कैलालीमा पाँच महिनामै ११३ किशोरीले गराए गर्भपतन



धनगढीः १२ सातासम्मको गर्भपतन गराउन पाइने कानुनी व्यवस्था भएपछि कैलालीमा गर्भपतन गराउनेको संख्या बढदै गएको छ।

विशेष गरी २० वर्षभन्दा कम उमेरका किशोरीले बढी गर्भपतन गराएका छन्। सूचीकृत नभएका स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने किशोरीको संख्या समेत बढ्न थालेको छ। गत महिना मात्र गर्भपतन जटिलताका कारण दुई महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कैलालीमा गत आर्थिक वर्षमा एक सय ८० महिलाले गर्भपतनको जटिलता भोग्नुपरेको स्वास्थ्य कार्यालयको तथ्यांक छ।

गर्भपतनको जटिलता भोगेकामध्ये कतिपय गर्भपतनको अनुमति नपाएको स्वास्थ्य संस्थाबाट औषधि किनेर गर्भपतन गराउन खोज्नेहरू रहेको स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स आशा थापाले बताएकी छन्। असुरक्षित ठाउँमा गर्भपतन गराउन खोज्दा स्वास्थ्यमा जटिलता भोग्नुपरेका धेरै घटना रहेको उनको भनाई छ।

लिंग परीक्षण, गोपनीयता, गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामा पहुँच नहुनु, जानकारीको कमीलगायत कारणले कतिपयले मेडिकलबाट औषधि किनेर असुरक्षित रूपमा गर्भपतन गराउने गरेको समेत पाइएको छ। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा पाँच हजार १८१ महिलाले १२ हप्तासम्मको गर्भपतन गराएका थिए।

त्यसमध्ये २० वर्ष उमेरमुनिका दुई सय ३७ जना छन्। सो अवधिमा दुई सय ९६ जनाले १२ हप्ताभन्दा माथिको गर्भपतन गराएका थिए। १२ हप्तामाथिको गर्भपतन गराउनेमध्ये २० वर्षमुनिका ४० जना छन्। चालू आर्थिक वर्षको मंसिरसम्ममा दुई हजार २३२ जनाले गर्भपतन गराएका छन्।

गर्भपतन गराउने २० वर्षमुनिका एक सय १३ र १२ हप्तामाथिको गर्भपतन गराउने संख्या एक सय ३६ रहेको छ। सरकारले १२ हप्तासम्मको गर्भपतन गराउने मान्यता दिएको छ। साथै हाडनाता करणी तथा गर्भका कारण महिलाको स्वास्थ्यमा जटिलता आउने अवस्थामा मात्र १२ हप्तामाथिको गर्भपतन गराउन पाउने व्यवस्था छ।
दिनेश खबरबाट साभार

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.