गीता संज्याल
कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्या कृषि पेसामा आबद्ध मेरो देशमा कृषि शब्दले छुट्टै स्थान ओगटेको छ। हाम्रा जिजु बाजे, बाजे, बुबा हुँदै हाम्रो पालासम्म आई पुग्दा पनि नेपाललाई कृषि प्रदान देश भनेर परिचय दिन पाउनु गर्वको कुरा हो। अनेकतामा एकता भएको हाम्रो देशमा कृषिमा पनि थुप्रै चलन चल्ती रहेको पाइन्छ। एक त हावापानी अर्थात् भू- बनोटले निम्त्याएको भिन्नता र अर्को हाम्रो सभ्यता र परम्पराले थपेको विभिन्न तौर तरीकाले कृषिलाई अलग उचाइमा स्थापित गरेको छ। अहिलेको समयसम्म आई पुग्दा कृषि अब खेतबारीमा मात्र सीमित नभई यो एउटा सानो कोठामा, ल्याबमा, घरको छतमा, गमलामा हुदाँहुदै माटो बिना पानीमा मात्रै पनि खेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ।हलो र जुवा समाई सुरु भएको कृषि अहिले गोरु विना आधुनिक ट्रय्कटर, मिनी टिलर समाई चलिरहेको छ। हाम्रा बाजेको कल्पना बाहिरको सोचलाई हामीले मूर्त रूप दिई हाल पानीको सहाराले माटो बिना नै खेती गर्न थालेका छौँ। यति बाट बुझ्न सकिन्छ हामीले कृषिमा कति फड्को मारेका छौ भनेर ।
नेपालको सन्दर्भमा कुरा गरिरहनु पर्दा विश्वले कृषिमा रोबट र विभिन्न रसायनको प्रयोग गरिरहँदा हाम्रो देशका कति भागमा अझै पनि गोरु हलो र जुवाले नै कृषि पेसा अङ्गाली रहेका छौ। परम्परागत पद्धतिले कृषिलाई अङगालिरहदा हामी कछुवा गतिमा अगाडि बढ्ने हुँदा हामीले उत्पादन विस्तार गर्न नसक्ने अवस्था सिर्जना हुन्छ। अहिलेसम्मका विभिन्न अध्ययन अनुसन्धान र हामै परिभेषलाई हेर्दा हामीले बुझ्न सक्छौ कि हामी कति पिछडिएका छौ। किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउनु, बजारमा भारतीय उपज सजिलै खपत हुने तर नेपाली उत्पादनले बजार नपाउनु, उत्पादन मूल्य बढी हुने तर बिक्री गर्दा उत्पादन मूल्य नउठ्नु । मलको अभावलाई व्यक्त गरिरहँदा हामीले हाम्रो लाचारीता छर्लङ्गै देख्न सक्छौ। परनिर्भरताले हामीलाई कतिसम्म लाचार बनाउँदछ भन्ने कुराको एक मूर्त उदाहरण हो यो। हामीलाई आवश्यक परेको बेला मल उपलब्ध नहुनु, उपलब्ध भई हाले पनि उपयुक्त मात्रामा नपाउनु त्यसैमाथि हाम्रो भ्रष्ट संस्कारले किसानले समयमै उपयुक्त मात्रामा मल पाउँदैनन् । कृषि पेसाको आवश्यकतामा पहिलो पङ्क्तिमा रहेका बीउ, मल र जल (सिँचाइ) को उपयुक्त व्यवस्था कमी देखिरहँदा शब्दमा मात्रै हाम्रो देश कृषि प्रदान हुनेकोकी भन्ने आशङ्का हामीमाझ चुलिनु पनि स्वाभाविक नै हो। प्रयास नभएका होईनन लिखित नीति नियम हेर्ने हो भने हाम्रो जस्ता उच्च कोटिका नीति नियम अरू देशमा विरलै होलान्।
राष्ट्रिय कृषि नीति २०६१, कृषि विकास रणनीति, बिउ बिजन एन २०४५, यस्ता यस्ता नीति नियम साथै पाँचौँ पञ्चवर्षीय आवधिक योजना देखि नै कृषिलाई पहिलो प्राथमिकता दिइँदै आएको छ। बजेट निर्माणका बेला कृषि शब्द यति पटक यति स्थानमा दोहोरिन्छ भन्ने गिन्ती नै छैन । तर कार्यान्वयनको बेला बजेट कहिल्यै पर्याप्त मात्रामा उपलब्ध हुँदैन । हाम्रो नेता वर्गको हरेक भाषणमा कृषि सम्भव सबैभन्दा धेरै पटक दोहोरिने शब्द हो तर यो शब्दकोशमै सीमित हुने गरेको छ। राष्ट्रिय गौरवका आयोजनामा पनि कृषिकै लागि भनी ठूलाठूला सिचाई आयोजना निर्माण भई रहेका छन्। कृषिकै लागि भनी सरकारले आफ्नै लगानीमा राम्रा आयोजनाको सुरुवात गरेको छ। विभिन्न पकेट ब्लक जोन र सुपर जोनको स्थापना गर्दै कृषिलाई नयाँ आयाममा पुर्याएको छ। बढ्दो जनसङ्ख्या, बसाइसराइ, सहरीकरण जस्ता क्रियाकलापले खेतीयोग्य जमिन मासिँदै जानु साथै जलवायु परिवर्तनका कारण पानी पर्ने समयमा पानी नपर्ने र गलत समयमा पानी पर्नुका कारणले उत्पादन भित्र्याउने बेला किसानले खेप्नु परेको नोक्सान अहिलेको नेपाली कृषिमा देखा परेको मुख्य समस्या हो। यही भदौ महिनाकै अवस्था हेर्न सक्छौ अब धान भित्र्याउने तयारीमा जुटेका किसान वर्गले डुबान र बाढीको समस्यासँग जुध्न परेको छ।
हेरिल्याउने हो भने समस्या विहीन क्षेत्र अहिलेको समयमा आएर भेट्न गाहै होला। देखा पर्ने हरेक समस्याको समाधानका उपाय पनि सँगसँगै जोडिएर आएका हुन्छन्। हरेक प्रश्न सँगै उत्तर जोडिएर आए जस्तै, समस्या सँगै समाधान पनि गासीएरै आएको हुन्छ। हामीसँग पहाडी क्षेत्रमा फलफूल उत्पादन प्रशस्त मात्रामा हुने गर्छ, त्यसको समयमै ढुवानीको राम्रो प्रबन्ध मिलाउनु पर्दछ। यसका लागि कृषि सडक निर्माण गर्ने, सङ्कलन केन्द्र निर्माण गर्ने वा सम्बन्धित पालिकाले बजारसम्म ढुवानीको उचित प्रबन्ध मिलाउने जस्ता कार्य गर्न जरुरी छ। आकाशे पानीमा निर्भर हाम्रो कृषि पेसामा सिँचाइका आयोजनालाई तीव्र गति दिई र आवश्यक नयाँ योजना निर्माण गर्न सकिन्छ। कागजमा सीमित हाम्रा नीति नियमलाई मूर्त रूप दिन किसान, सरकार, गैर-सरकार, निजी क्षेत्र, व्यक्ति सबैले हातेमालो गरी अगाडि बढ्नु पर्छ। टुक्रिएर रहेका खेतीयोग्य जमिनलाई चक्लावन्दि खेती प्रणालीमा परिणत गर्न सके कृषिले नेपालको अर्थतन्त्रमा फड्को मार्ने थियो। घर बनाउनका लागी उर्वर जमिनको प्रयोग गर्न बन्देज लगाउने र जग्गा बिग्रनबाट बचाउनका लागि बाझो नछोड्ने जस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ। खेती गर्न इच्छुक व्यक्तिका लागि जग्गाको उपलब्धता गर्ने र लगानीका लागि कर्जा उपलब्ध गराउने कार्यले किसान वर्गमा नयाँ जोस पैदा गरेको छ।
कर्जा लिने प्रक्रिया हल्का झन्झटिलो हुने भएता पनि यसले व्यक्तिलाई लगानी गर्न ठुलो मद्दत पुर्याउने गर्दछ। यस्तै विभिन्न माध्यमको प्रयोग गरी सूचना आदान प्रदान गर्न रेडियो, टी.भि हुँदै हाल यूटुब, मोबाइल एप, म्यागेजिन हरुको प्रयोग गरी नयाँ कुराहरू सजिलै फैलिनाले कृषक जागरूक हुँदै गएका छन्। कृषि प्राविधिकको झन्डै आधा काम त मोबाइलले नै गर्ने भइसकेको छ। आकाशे पानीको भरमा चलेको हाम्रो कृषि प्रणालीमा पूर्वानुमान गरेर पानी पर्ने समय, पानीको मात्रा, हामीले पहिले नै थाहा पाउन सक्छौ र यसरी सतर्कता अपनाउन सकिन्छ। माटो जाँच गरी माटोमा मलको आवश्यकता, कुन बाली लगाउँदा राम्रो हुन्छ, भन्ने जस्ता कैयौँ कुरा हामीले सहजै पत्ता लगाउन सक्छौ। जसले गर्दा हाम्रो किसानी पेसा सहज हुन गएको छ। जलवायु परिवर्तनको कुरा गरिरहँदा हामीले यस परिवर्तित अवस्थासँग लड्न सक्ने विधिको प्रयोग गर्न सक्नुपर्छ। एकीकृत रूपमा सम्पूर्ण तरीकाको प्रयोग गरी जलवायु परिवर्तनबाट आई पर्ने प्रकोपलाई न्यूनीकरण गर्न सकिन्छ । विभिन्न अध्ययन अनुसन्धानबाट जस्तोसुकै मौसममा पनि खेती गर्न सकिने बालीका जातहरू विकास गरिएका छन्। जसले हामीलाई सिर्जित वातावरणीय अनुकूलतामा पनि खेती गर्न मद्दत पुर्याएकाे छ।
हाम्रा आधारभूत आवश्यकता गाँस, बास र कपास मध्य गाँस र कपासको मुख्य स्रोत भनेकै कृषि हो। एक छाक टार्नका लागि र एक ज्यान ढाक्नका लागि हामीलाई कृषिबाट उत्पादित वस्तुको आवश्यकता पर्छ। त्यसैले कृषिको महत्त्व दर्साउन अन्य उदाहरण आवश्यक छ जस्तो मलाई लाग्दैन। नेपालले परम्परागत कृषि पद्धति सँगसँगै आधुनिक पद्धतिलाई अङ्गालेर विश्वसामु आफ्नो छुट्टै परिचय दिई रहेको छ।
लेखक- गीता संज्याल महेन्द्र रत्न क्याम्पस इलामबाट कृषि सङ्कायमा स्नातक उत्तीर्ण गरी कालिकोट जिल्ला स्थित पलता गाउँपालिकामा कृषि अधिकृत रुपा कार्य अनुभव हासिल गरी हाल उच्च शिक्षाका लागि काठमाडौँ बसोबास गर्दै आउनु भएको छ ।
सम्वन्धित समाचार
नारायणगढ-बुटवल सडक अवरुद्ध
युवा नीति परिमार्जन तत्कालको आवश्यकता
युवा नीति परिमार्जन तत्कालको आवश्यकता
म निष्ठापूर्व काम गर्न प्रतिवद्व छु: मन्त्री पाण्डे
बाजुरा महोत्सवमा (शनिबार ) आज समिक्षा अधिकारी लगायको प्रस्तुति रहने
प्रचण्डसँग मिलेपछि तपाईँको गाली उद्योग चाहिँ बन्द हुने भो त ? ओली कमरेड : शर्मा