विनय कार्की
अगस्ट १२का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । यसै सन्दर्भलाई पारेर यस लेखमा नेपाली युवाको अवस्था, देशको समस्या र समाधानका लागी युवा नीतिमा परिमार्जनको आवश्यकताका बारेमा चर्चा गरिने छ । विश्वमा सबै समाजमा समस्याहरू हुन्छन् । समस्याका प्रकार, आयाम र मात्रा भने समाज अनुसार फरक पर्छन् । समाज अनुसार त्यहाँको नीति, कानुन व्यवहार र तत्कालीन समयका आर्थिक, सामाजिक र राजनीतिक अवस्थाले यसमा फरक पर्ने गर्छ । समाज एउटै भन्दा पनि बहु आयामिक समस्याहरूमा जेलिएका हुन्छन् । त्यत्ति, समाज र राष्ट्र भित्रका समस्याहरूले एक अर्कालाई प्रभाव पारिरहेका हुन्छन् । कतिपय नितान्त व्यक्तिगत देखिने समस्याहरू केवल व्यक्तिगत मात्र समस्या नभएर सामाजिक साथै राष्ट्रिय स्तरमा समस्या हुन्छन् । त्यस्तै समाज वा राष्ट्रमा देखिने समस्याहरूले व्यक्तिलाई असर गरिरहेका हुन्छन् ।
आज आम नेपालीको बुझाइमा नेपाली समाज समस्याको जालोमा फसेको समाज हो । हामीले धेरै पटक धेरै ठाउँमा यसको अभिव्यक्ति सुनेका पनि छौ र आफै भोगेका र स्वीकारेका पनि छौ । यसका साथै हामीले नेपाल भनेको कहिल्यै राम्रो नहुने र राम्रो गर्न नसकिने ९सतीले सरापेको देश० र आशा र सम्भावना नभएको देश भन्ने नकारात्मक भाष्यको प्रयोग सामान्य रूपमा गरिरहेका हुन्छौ । हाम्रा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रका समस्याहरूका कारण र प्रभाव आन्तरिक र बाहिर दुवै भएपनी समाधान भने मुलतय आन्तरिक हुन्छन् । कसैले भनिदिएको, खोजिदिएको, बनाइदिएको क्याप्सुल जस्ता समाधानका उपायले समस्याको दिगो समाधान गदैनन् । नेपालले मौलिक र दिगो विधिको समाधानको खोज्न सक्नुपर्छ । आजको नकारात्मक भाष्यले समाजलाई थप कमजोर, गतिहीन र लक्ष्य विहीन बनाएर समस्या माथि समस्या थपेका छन् । यो नकारात्मक धारणा प्रति समाज बेलैमा सजक हुनपर्छ ।
कुनै पनि देश र समाज गतिशील बन्न नागरिकमा सपना, चाहना, आशा, भरोसा साथै क्रियाशीलता आवश्यक पर्छ । युवा पुस्तामा देखिएको निराशा, अराजकता र अविश्वासले उनीहरूको परिवार, समाज र राज्यसँग दुरी बढ्दै गएको छ । यसले समाजमा थप अन्योलयता र अन्धकार तिर धकेलिएको छ । उनीहरूको हाम्रा सामाजिक संरचना, सार्वजनिक सेवा र निजी क्षेत्र, सरकार, राजनीति, वित्तीय संस्था, सामुदायिक संस्थाहरू प्रति विश्वास घट्दो छ । यो अवस्था बाट बाहिर आउन तथ्य र तर्कका आधारमा सहिलाई सही र गलतलाई गलत भन्ने युवाको खाँचो समाजमा छ ।
युवालाई देशको सम्पत्ति र धरोहरका रूपमा हेरिन्छ । देशको आजको अवस्थाले ऊर्जा, लगनशीलता, सृजनशीलता, सक्रियता र समय साथमा भएको युवा पुस्तालाई उत्साहित बनाएको छैन । युवाहरूलाई आफ्नो देश र समाज प्रति विश्वास गरेर सपना देख्न सकिरहेका छैनन् । उनीहरूले आफ्नो योग्यता, क्षमता र सिपको उपयोग गर्दै रोजगारीका अवसर पाउन सकेका छैनन् । उनीहरूलाई देशमा केही गर्न सकिँदैन र यहाँ बस्नु भनेको समय खेर फ्याल्नु भन्ने लाग्दै छ । उनीहरूको दिमागमा रोपिएको पलायन हुनु मात्र विकल्प भन्ने बिरुवा हुर्किएको देखिन्छ । यो निराशाजनक भाष्यले धेरै व्यापारी, म्यानपावर, सरकारका सीमित व्यत्तिहरुलार्ई धमिलो पानीमा माछा मार्न सहयोगी बने पनि यसले हाम्रो समाजलाई दीर्घकालीन लाभ हुँदैन ।
हिजो विदेश जानेले किन जान लागेको भन्ने प्रश्नको उत्तर दिन पर्ने ठाउँबाट आज विदेश नगएकाहरूले किन नगएको भनेर प्रश्नको उत्तर समाजमा खोजिने अवस्था आइसकेको छ । आजको खुल्ला समाजमा मानिस विश्वका सबै ठाउँमा जान सक्छन् यो सामान्य कुरा हो । तर सामाजिक रूपमा बिदेसिनु नै संस्कार वा संकृतिको रूपमा विकास भएको ट्रेन्ड भने समाज र देशको हितमा भने हुन सक्दैन । हाम्रा नागरिक लगिरहेका धेरै देशले आफ्नो स्वार्थलाई प्राथमिकता राखेर लगेका भएपनी विडम्बना भनौँ हाम्रो देशले उत्पादनशील जनशक्ति विना योजना निर्यात मात्र गरिरहेको छ ।
अर्को तर्फ हाम्रा विश्वविद्यालय खाली हुँदै हुदैछन् । खेतबारीहरू बाझो बन्दा उत्पादन घटेको छ भने परनिर्भरता बढेको छ । हाम्रा मौलिक सिप र ज्ञानमा धुलो लाग्न थालेका छन् । हाम्रो टाउकोमा ऋण थपिरहेको छ । अर्ग्यानिक र पुराना उत्पादन प्रणालीहरू विघटन हुँदैछन । यो सँगै हाम्रा सामाजिक सम्बन्ध र संस्कार, राम्रा मूल्यमान्यता, सामाजिक संरचनाहरू व्यापक विघटन तिर गएका छन् ।
गौतम बुद्धले जीवन र जगतलाई बुझ्न चार सत्य दिएका छन् । पहिलो संसारमा दुःख छ । दोस्रो सबै दुःखका कारणहरू छन् । तेस्रो दुःखको निवारण गर्न सकिन्छ । चौथो दुःख निवारणका उपाय हुन्छन् । बुद्धले भने जस्तै हामी सँग समस्या दुः ख छन् । त्यसका कारण छन् र यो समस्या बाट बाहिर आउन उपायहरू पनि छन् । त्यसैले बुद्धको जन्म भूमिमा २५०० वर्ष पछाडि समस्याबाट भाग्ने भन्दा पनि समस्याको निवारण गर्ने उपायको खोज गर्न पर्छ । यसका लागी समाजमा रहेका दुःख र समस्याको समाधान गर्न यसका कारणहरूको पहिचान गर्न सक्नु पर्छ ।
राष्ट्रिय युवा नीतिको परिमार्जनको आवश्यकता
नेपालमा १६ देखि ४० वर्षको उमेर समूहलाई युवा मानिन्छ । राष्ट्रिय जनगणना २०७९का अनुसार ४२।५६ प्रतिशत जनसङ्ख्या युवाको रहेको छ । यो जनसाङ्ख्यिक लाभांश नेपालका लागी युवा जनशक्तिको सदुपयोग गर्दै समाजमा दिगो विकास, शान्ति र समृद्धि हासिल गर्ने सम्भावना, आशा र अवसर हो । युवामा राष्ट्र, राष्ट्रियता र जनताप्रतिको बफादारी, लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्धन, सह–अस्तित्व र सहकार्यको भावना विस्तार र युवाको सर्वाङ्गीण विकास गर्दै उनीहरूको क्षमतालाई राष्ट्रको विकासमा उपयोग गर्न युवाकालागी राष्ट्रिय युवा नीति, २०७२ हाल कार्यान्वयनको अवस्थामा रहेको छ । देशमा युवा नीति कार्यान्वयनको अवस्थामा हुँदा पनि सीमित युवा यसबारे जनकार छन् । अझै सीमित युवाले यस नीति अन्तरगतका कार्यक्रमबाट लाभ लिएका छन् । देश छोडेर परदेश हिँडिरहेको युवाको लर्कोले पनि युवा नीतिले युवाका सवाल र समस्याको समाधान गर्न नसकेको प्रस्ट देखिन्छ । यसका पछाडि केही महत्त्वपूर्ण कारण देखिन्छन् ।
पहिलो यस नीतिले परिलक्षित गरेका कार्यक्रमको कार्यान्वयन गर्ने बजेट हात्तीको मुखमा जिरा जस्तै हुनु हो । सङ्घ, प्रदेश र स्थानीय तिनै तहका सरकार, गैरसरकारी र निजी क्षेत्रले युवा लक्षित कार्यक्रमका कम वा अति न्यून लगानी गर्ने गरेको पाइन्छ । दोस्रो यस नीतिले समेटेका युवाको शिक्षा, रोजगारी, स्वास्थ्य तथा सामाजिक सुरक्षा, क्षमता र नेतृत्व विकास, दुर्व्यसन र मानव तस्करी नियन्त्रण, वातावरण संरक्षण र दिगो विकास, विज्ञान तथा सूचना प्रविधिमा युवाको पहुँचका जस्ता बहु आयामिक क्षेत्रमा कार्यक्रम दिन, कार्यान्वयनको अनुगमन र मुल्याकंन गर्नका लागी विभिन्न मन्त्रालय बिच अन्तर मन्त्रालय समन्वय र सहकार्यको अभाव हुनु हो । यस नीतिको कार्यान्वयन युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा हुने भनिएको भए पनि युवा मन्त्रालयलाई नै ओझेल परेको मन्त्रालयको रूपमा देखिदा समन्वयकारी भूमिका खेल्न अझै कठिन भएको छ । त्यस्तै युवा नीतिको कार्यान्वयन गर्न राजनीतिक दलहरूको यस प्रतिको प्रतिविद्धताको पनि आवश्यकता देखिन्छ ।
तेस्रो संरचनागत समस्या हो । देश सङ्घीय संरचनामा गएको दशक बित्न लाग्दा युवा नीतिलाई सङ्घीयता अनुरूप परिमार्जन गरिएको छैन । आवश्यक अधिकार र बजेट सहित युवाका लागी काम गर्ने संयन्त्रको तिनै तहमा व्यवस्था गरिनु अनिवार्य छ । साथै अझै सक्रिय रहेको जिल्ला युवा समिति जस्ता संरचना खारेज गरिन पर्छ । त्यस्तै, राष्ट्रिय युवा परिषद्को गठनमा युवाका मुद्दा भन्दा राजनीतिक पार्टीको सदस्यता प्राथमिकतामा पर्ने गरेको देखिन्छ । यसले राष्ट्रिय युवा परिषद् राजनीतिक भाग बन्डाको थलो बन्न पुगेको छ । यसले युवाका सवालहरू पनि ओझेलमा परेका देखिन्छन् ।
चौथो, युवाहरूका सवाल, माग र अधिकारका लागि सामूहिक अभियान र आन्दोलनहरू कम हुनु हो । युवा हक अधिकारका विषयमा समाजमा प्रश्नहरूको अभाव देखिन्छ । युवाको हक हित र अधिकारका लागि सामूहिक दबाब दिने समूहहरूको कमी, भएका समूह र त्यत्ति बिच सहकार्य र समन्वयको अभाव देखिनुले युवा नीतिको कार्यान्वयनको अवस्था युवाको माग अनुसार हुन सकेको छैन । साथै युवाका लागी सामुदायिक, निजी, सरकारी, गैर सरकारी क्षेत्रबाट पर्याप्त सहयोग र सहकार्यको अभावले पनि युवाको सशत्तिकरण र नेतृत्व विकास हुन सकिरहेको छैन ।
पाँचौँ, युवा आफैमा आत्मविश्वास, भरोसाको खडेरी लाग्नु हो । युवामा क्षमता र वास्तविकता बिचको दुबिधामा फसेका देखिन्छन् । वास्तविकतामा काम गर्ने भन्दा क्षमताको सपनाले युवामा निष्क्रियता बढेको देखिन्छ । क्षमताको प्रयोग गरेर वास्तविकता बदल्ने कामका युवामा उत्साह देखिँदैन । समाजमा उत्सव, उमंंग र ऊर्जा अभिव्यक्त हुने भन्दा निराशा सघन बन्दा युवामा सपना, आशा, भरोसा कमजोर बनाएको छ । कुनै बहाना र विकल्पले वास्तविकता बदलिँदैनन् । यसका लागी युवा पुस्तामा समाजका समस्या र चुनौती सामना गर्ने साहस र जिम्मेवारी बोध हुन पर्छ ।
आजको समाज बनाउन हिजोका युवाले सङ्घर्ष गरे जस्तै अबको हाम्रो समाज कस्तो बनाउने भन्ने युवा पुस्ताले सोच्न पर्छ । समाजको लगाम युवाहरूको हातमा हुन्छ । त्यसैले समाजमा रहेका समस्याको पहिचान गर्दै समाधानको खोजीमा जुटौँ । यहाँ भएका निराशालाई आशामा बदल्न प्रयत्न गरौँ । असफलतालाई सफलतामा बदल्न प्रयास गरौँ । हामीले केवल नकारात्मकता तिर लाग्ने भन्दा यस्तामा प्रश्न र प्रतिरोध गर्दै यसका जरा उखाल्न माटो खोस्रन सुरु गरौँ । हामी समाजको गति र गन्तव्य दुवै परिवर्तन गर्न सक्छौ । त्यसका लागी विश्वास गरौँ, कर्म गरौँ, सकारात्मक सोचको प्रवर्धन गरौँ, सपना देखौँ, प्रयास गरौँ र परिवर्तनको पक्षमा लागौँ । नेपालको सुखी नेपाली समृद्ध नेपाल बन्ने सपना साकार गर्न प्रयत्नशील बनौँ ।
सम्वन्धित समाचार
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत
राप्रपाको प्रदर्शन सकियो, नेताहरु पक्राउ परेपछि आकस्मिक बैठक बोलाइयो
१९ दिनदेखि शिक्षकको आन्दोलन जारी
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले बोलाए साँझ ७ बजे
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउनू:- देउवा