‘महिला सशक्तिकरणका लागि प्रविधि सहितको उत्कृष्ट सेवा प्रदायक, दीगो साकोस भन्ने’ नारालाई आत्मसात गरेको संस्थाले महिला सदस्यहरुको आर्थिक, सामाजिक उन्नतिका साथै नेतृत्व विकासमा पनि उल्लेख्य भूमिका खेलेको छ ।
काठमाडौं । ज्ञानज्योति महिला बचत तथा ऋण सहकारी संस्था मुलुकभरका बचत तथा सहकारी संस्था मध्येबाट यो बर्ष सर्वोत्कृष्ट संस्था बन्न्न सफल भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)ले ज्ञानज्योतिलाई मुलुकभरकै सर्वोत्कृष्ट सहकारी घोषणा गरेको हो । नेफस्कूनले ३६औं स्थापना दिवसको अवसरमा आयोजित एक समारोहमा ज्ञानज्योति सहित विभिन्न विधामा संघसंस्था र व्यक्तिलाइ उत्कृष्ट घोषणा गरेको हो ।
२०५९ सालमा बैशाखमा महिला दिदिबहिनीहरुको आर्थिक सामाजिक उत्थान गर्ने उदेश्य लिएर सानो पुँजीबाट काठमाडौंको शंखमुलमा उक्त संस्थाको स्थापना भएको हो । ३३ जना महिलाहरुको सामुहिक प्रयास र ५ हजार ५५५ रुपैया पुँजीबाट सुरु भएको संस्था दुई दशकको अवधिमा मुलुककै उत्कृष्ट संस्था बन्न सफल भएको छ । लुमन्ती नामक एक गैरसरकारी संस्थाको सहयोगमा एउटा सटर, एक थान टेबल, एउटा दराज र १० वटा चकटीबाट संस्था सुरु गरिएको थियो ।
सहकारी संस्थाको रुपमा दर्ता हुनु पूर्व लुमन्ती नामक संस्थाको सहयोगमा खोला किनार आसपास अव्यवस्थित बसोबास गर्दै आएका महिलाहरुलाइ समुहमा आवद्ध गराएर दैनिक २ रुपैया बचत गर्ने अभियान सुरु गरिएको थियो । २०५६ सालबाट समुह निर्माण गरी सुरु गरिएको उक्त बचत अभियानका केहि सक्रिय महिलाहरुको सहभागितामा सहकारी आरम्भ भएको संस्थाकी व्यवस्थपाक चन्द्र लक्ष्मी खड्गीले बताइन । तीनचार बर्षको अवधिमा समुहमा कारोवार वृद्धि हुँदै गएको र यसलाइ व्यवस्थित गर्न सहकारी दर्ता गरौं भन्दा धरैले विरोध गरेको उनले बताइन् ।
त्यो समयमा पनि आसपासका कतिपय सहकारी संस्थाले सदस्यबाट बचत लिएर फरार भएका थिए । यिनीहरुले पनि सहकारी दर्ता गरी अध्यक्ष र व्यवस्थापक मिलेर हाम्रो पैसा खान सहकारी दर्ता गरेको भन्दै कतिपय महिला समुहबाट नै बाहिरिएको उनले सुनाइन् । शुरुवाती दिनमा आफुहरुले लुुमन्ती संस्थाको सहयोगमा सहकारी भनेको हो, सहकारी र समुहमा धेरै फरक छ, समुबाट ५ हजार ऋण पाइन्छ भने सहकारीको कारोबार वृद्धि हुँदैजाँदा आफुलाई चाहेजति ऋण लिएर पेशा व्यवसाय गर्न सकिन्छ भनेर तालिम तथा प्रशिक्षण दिएर संस्थामा सदस्यता वृद्धि गरेको उनको भनाइ छ ।
समुहमा काम गर्दा दैनिक २ रुपैया संकलन गर्न दिनहुँजसो खोलाको किनार जाने गरेको उनले सुनाइन् । महिलाहरुको आयस्रोत भनेकै खोलाबाट बालुवा निकालेर विक्री गर्नु रहेको थियो । सबै महिलाहरु शंखमुल आसपास खोलाबाट बालुवा निकालेर जिविकोपार्जन गर्ने भएकाले आफु पनि बचत संकलनका लागि त्यहिँ जाने गरेको उनले बताइन् । आर्थिक रुपमा पीछडिएका, अव्यवस्थित बसोबास गर्दै आएका र शहरी गरिब महिलाहरुको जीवनस्तर बदल्न संस्था कोशेढुङ्गा सावित भएको उनको भनाई छ ।ब
ालुवा निकालेर दैनिकी चलाउँदै आएका सयौं महिलाहरु सहकारीमा आवद्ध भएर जीवन परिर्वतन गर्न सकेको उनले सुनाइन् । सहकारीका माध्यमबाट उनीहरुले बालबच्चालाई राम्रो शिक्षा दिन सकेका छन् भने ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गरेर आर्थिक उन्नति गर्न सफल भएका छन् । कतिपय सदस्यले सहकारी कै कारण शहरमा घर घडेरी जोडेर व्यवस्थित जीवनयापन गर्न थालेका छन् ।
संस्थाले पनि नेपाल बसोबास बस्ती समाज र नेपाल महिला एकता समाजसँग सहकार्य गरेर पीछडिएका महिलाहरुको उत्थानको लागि शिक्षा, सिपमुलक तालिम तथा स्वास्थ्य शिविर जस्ता थुप्रै गतिविधि सञ्चालन गर्दै आएको उनले जानकारी दिइन् । संस्थाले सुरुका दिन देखिनै मासिक बचतलाइ प्राथमिकता दिएको थियो । संस्थामा सदस्य बन्न अनिवार्य रुपमा मासिक बचतमा सहभागि हुनैपर्छ । सदस्यहरुले मासिक रुपमा अहिले न्युनतम ५ सय रुपैया बचत गर्नुपर्छ । मासिक बचतले संस्थालाइ आर्थिक रुपमा टिकाउन पनि ठूलो टेवा पुगेको उनले बताइन् ।

यसरी बन्न पुग्यो सर्वोत्कृष्ट संस्था
संस्था २०६२/६३ सालमा नै नेफस्कूनको सदस्य बनेको थियो । नेफ्स्कुनको सदस्य बने पनि सुरुका दिनमा संस्थाले सामान्य कारोबार बाहेक ब्रान्डिङ कार्यक्रममा सहभागिता जनाएको थिएन । आफनो ज्ञानले जे जानेको छ, त्यहि तरिकाले संस्था सञ्चालन हुने गरेको थियो । त्यो समयमा संस्थासँग बचत तथा ऋण बाहेक अरु कुनै नीति थिएन । भएको नीतिलाइ पनि संस्थाले व्यवहारमा लागू गरेको थिएन । सदस्यको मागको आधारमा ऋण लगानी गर्ने गरेको थियो । ऋण लगानी गर्दा पनि पुरा गर्नु पर्ने कतिपय प्रक्रिया पुरा गर्दैन थियो ।
सदस्यले जतिखेर ऋण माग्थे, संस्थाले सदस्यको कुनै कुरा विश्लेषण नगरी ऋण लगानी गर्दै आएको थियो । समय वित्दै जाँदा संस्थाको कारोवार पनि वृद्धि हुँदै गएको र कारोबार असुरक्षित जस्तो लागेपछि नेफस्कूनले सञ्चालन गरेको प्रोबेशन ब्राण्डमा सहभागी हुने निर्णय गरेको उनले सुनाइन् । एक दिन नेफस्कूनमा गएर संस्थालाइ व्यवस्थित गर्न के गर्नुपर्छ भनेर सोध्दा उहाँहरुले प्रोबेशन कार्यक्रममा सहभागी हुन सुझाव पाएको उनले सुनाइन् ।
उक्त ब्राण्डमा सहभागी हुनुपूर्व काभ्रेको पनौतीमा रहेको लक्ष्मी महिला सहकारीको भ्रमण गर्न भनेकाले संस्थाका सञ्चालक समिति र कर्मचारीले संस्थाको अवलोकन भ्रमण गरेको उनले बताइन् । उक्त संस्थाबाट प्रोबेशन ब्राण्डमा सहभागी हुँदा संस्थालाई व्यवस्थित गर्न सहयोग मिल्ने सल्लाह पाएपछि २०७४ सालमा प्रोबेशन कार्यक्रमका लागि सम्झौता गरेर २०७५ सालबाट उक्त कार्यक्रममा सहभागि भएको उनले जानकारी दिइन् ।
प्रोबेशनमा सहभागी भएपछि संस्थालाइ नीति, विधि र प्रविधिमा आधारित भएर सञ्चालन गर्न अभिप्रेरित गरेको उनले सुनाइन् । संस्थाका लागि आवश्यक नीति र विधि बनाइ त्यसलाइ संस्थामा लागू गर्न नेफ्स्कुनले सहयोग गरेको उनले बताइन । नेफस्कूनले दिएको गाइडलाइनलाइ फलो गरेर सोही अनुसार संस्थाको बचत संकलन र ऋण लगानीलाइ अगाडि बढाएको र यसले संस्थाको वित्तिय व्यवस्थापनमा ठुलो सहयोग मिलेको व्यवस्थापक खड्गीको भनाइ छ । ‘नीति, विधि र प्रविधिलाई आत्मसाथ गरेर अगाडि बढ्दा आजको सफलता मिलेको हो ।’ उनले भनिन् ।
नेफ्स्कूनले दिएको सम्मानले संस्थालाइ थप व्यवस्थित गरेर जान हौसला मिलेको उनले सुनाईन् । शहरी क्षेत्रमा रहेर पनि समुदाय र सदस्य केन्द्रीत संस्थाको रुपमा विकास गरी सदस्यको जीवनस्तर परिर्वतन गर्न खेलेको भुमिकाको नेफस्कूनले उचित मुल्याङकन गरेको उनको भनाइ छ ।
यस्तो छ वित्तीय विवरण
संस्थाले समुहमा कारोबार गर्दै आएको छ । संस्थाका हाल ४२ वटा समुह छन् । समुहमा नै बचत संकलन गरिन्छ र समुहबाटै ऋण लगानीको प्रस्ताव हुन्छ । समुहमा एक जना संयोजक तोकिएको हुन्छ । संयोजकले बैठक बोलाउने, ऋणका लागि सिफारिस गर्ने र मासिक बचत संकलन गर्न सहयोग गर्ने जस्ता कार्य गर्छन् । सुरुमा स सानो ऋण मात्रै लगानी गरेको संस्थाले अहिले धितोमा प्राथमिक पुँजीको १० प्रतिशसम्म ऋण लगानी गर्ने गरेको छ भने फाइभ–सी लाइ पनि ऋण लगानीको आधार बनाएको छ ।त
्यसैगरी सामुहिक जमानीको आधारमा पनि संस्थाले ऋण लगानी गर्ने गरेको छ । जस कारण संस्थाको ऋण असुलीमा खासै समस्या छैन । गत आर्थिक बर्ष २०७९।०८० मा संस्थाको खराव ऋण ५ प्रतिशत भन्दा तल रहेको छ । सदस्यले पेश गरेको कुनै व्यवसायिक तालिमको प्रमाणपत्रका आधारमा उनीहरुलाई उद्यमशील बनाउन ससानो ऋण दिने गरेको छ ।
सुरुमा महानगरपालिकाका ५ वटा वडा मात्रै कार्यक्षेत्र पाएको संस्थाले अहिले कार्य क्षेत्र विस्तार गरेर ११ वटा बनाएको छ । सहकारीको सिद्धान्त अनुसार आफना कार्यक्षेत्र भित्र बसोबास गर्ने स्थानीय महिलाहरुलाई संस्थाले सदस्य बनाएको छ । संस्थाले गत आर्थिक बर्षभित्र शेयर पुँजीमा ३५ लाख रुपैया वृद्धि गर्न सफल भएको छ । कतिपय संस्थाहरु वित्तिय संकटबाट गुज्रिरहेको बेला संस्थामा भने पर्याप्त मात्रामा तरलता रहेको छ । तरलता वृद्धि भइरहेकोले सुरक्षित लगानी गर्नु संस्थाका लागि चुनौति रहेको छ ।
गत आर्थिक वर्षको असारमसान्तसम्म संस्थाको शेयरपुँजी २ करोड २० लाख शेयरपुँजी र हेको छ । सो अवधिमा १४ करोड ७८ लाख बचत संकलन गरेको संस्थाले १४ करोड ११ लाख ऋण लगानी गरेको छ । संस्थाको जगेडा कोषमा १ करोड ३५ लाख रहेको छ भने संस्थागत पुँजी १ करोड ४५ लाख र अन्य कोषहरुमा ६६ लाख रकम जम्मा भएको छ । १५८६ जना सदस्य र ५८९ बाल सदस्य रहेको संस्थाको कुल सम्पत्ति १९ करोड ६९ लाख पुगेको छ । संस्थाले यस आर्थिक वर्षमा प्रोवेशन ब्राण्ड नवीकरणका लागि अडिट गर्ने जनाएको छ ।
‘महिला सशक्तिकरणका लागि प्रविधि सहितको उत्कृष्ट सेवा प्रदायक, दीगो साकोस भन्ने’ नारालाई आत्मसात गरेको संस्थाले महिला सदस्यहरुको आर्थिक, सामाजिक उन्नतिका साथै नेतृत्व विकासमा पनि उल्लेख्य भूमिका खेलेको छ । संस्थाले सहकारी शिक्षामार्फत सदस्यहरूलाइ वित्तीय ज्ञान प्रदान गर्दै आएको छ भने समयसमयमा स्वास्थ्यशिविर आयोजना गरी स्वास्थ्य चेकजाँच गर्न सहयोग गरेको छ । सदस्य सुत्केरी हुँदा २ पटकसम्म पोषणखर्च र सदस्य तथा एकाघरका परिवारजनको निधन हुँदा राहत रकम प्रदान गर्दै आएको छ ।



सम्वन्धित समाचार
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
आसन्न निर्वाचनमा करिव ३१ अर्ब खर्च हुने सरकारको अनुमान
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
घुससहित विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी पक्राउ
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा