‘महिला सशक्तिकरणका लागि प्रविधि सहितको उत्कृष्ट सेवा प्रदायक, दीगो साकोस भन्ने’ नारालाई आत्मसात गरेको संस्थाले महिला सदस्यहरुको आर्थिक, सामाजिक उन्नतिका साथै नेतृत्व विकासमा पनि उल्लेख्य भूमिका खेलेको छ ।
काठमाडौं । ज्ञानज्योति महिला बचत तथा ऋण सहकारी संस्था मुलुकभरका बचत तथा सहकारी संस्था मध्येबाट यो बर्ष सर्वोत्कृष्ट संस्था बन्न्न सफल भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)ले ज्ञानज्योतिलाई मुलुकभरकै सर्वोत्कृष्ट सहकारी घोषणा गरेको हो । नेफस्कूनले ३६औं स्थापना दिवसको अवसरमा आयोजित एक समारोहमा ज्ञानज्योति सहित विभिन्न विधामा संघसंस्था र व्यक्तिलाइ उत्कृष्ट घोषणा गरेको हो ।
२०५९ सालमा बैशाखमा महिला दिदिबहिनीहरुको आर्थिक सामाजिक उत्थान गर्ने उदेश्य लिएर सानो पुँजीबाट काठमाडौंको शंखमुलमा उक्त संस्थाको स्थापना भएको हो । ३३ जना महिलाहरुको सामुहिक प्रयास र ५ हजार ५५५ रुपैया पुँजीबाट सुरु भएको संस्था दुई दशकको अवधिमा मुलुककै उत्कृष्ट संस्था बन्न सफल भएको छ । लुमन्ती नामक एक गैरसरकारी संस्थाको सहयोगमा एउटा सटर, एक थान टेबल, एउटा दराज र १० वटा चकटीबाट संस्था सुरु गरिएको थियो ।
सहकारी संस्थाको रुपमा दर्ता हुनु पूर्व लुमन्ती नामक संस्थाको सहयोगमा खोला किनार आसपास अव्यवस्थित बसोबास गर्दै आएका महिलाहरुलाइ समुहमा आवद्ध गराएर दैनिक २ रुपैया बचत गर्ने अभियान सुरु गरिएको थियो । २०५६ सालबाट समुह निर्माण गरी सुरु गरिएको उक्त बचत अभियानका केहि सक्रिय महिलाहरुको सहभागितामा सहकारी आरम्भ भएको संस्थाकी व्यवस्थपाक चन्द्र लक्ष्मी खड्गीले बताइन । तीनचार बर्षको अवधिमा समुहमा कारोवार वृद्धि हुँदै गएको र यसलाइ व्यवस्थित गर्न सहकारी दर्ता गरौं भन्दा धरैले विरोध गरेको उनले बताइन् ।
त्यो समयमा पनि आसपासका कतिपय सहकारी संस्थाले सदस्यबाट बचत लिएर फरार भएका थिए । यिनीहरुले पनि सहकारी दर्ता गरी अध्यक्ष र व्यवस्थापक मिलेर हाम्रो पैसा खान सहकारी दर्ता गरेको भन्दै कतिपय महिला समुहबाट नै बाहिरिएको उनले सुनाइन् । शुरुवाती दिनमा आफुहरुले लुुमन्ती संस्थाको सहयोगमा सहकारी भनेको हो, सहकारी र समुहमा धेरै फरक छ, समुबाट ५ हजार ऋण पाइन्छ भने सहकारीको कारोबार वृद्धि हुँदैजाँदा आफुलाई चाहेजति ऋण लिएर पेशा व्यवसाय गर्न सकिन्छ भनेर तालिम तथा प्रशिक्षण दिएर संस्थामा सदस्यता वृद्धि गरेको उनको भनाइ छ ।
समुहमा काम गर्दा दैनिक २ रुपैया संकलन गर्न दिनहुँजसो खोलाको किनार जाने गरेको उनले सुनाइन् । महिलाहरुको आयस्रोत भनेकै खोलाबाट बालुवा निकालेर विक्री गर्नु रहेको थियो । सबै महिलाहरु शंखमुल आसपास खोलाबाट बालुवा निकालेर जिविकोपार्जन गर्ने भएकाले आफु पनि बचत संकलनका लागि त्यहिँ जाने गरेको उनले बताइन् । आर्थिक रुपमा पीछडिएका, अव्यवस्थित बसोबास गर्दै आएका र शहरी गरिब महिलाहरुको जीवनस्तर बदल्न संस्था कोशेढुङ्गा सावित भएको उनको भनाई छ ।ब
ालुवा निकालेर दैनिकी चलाउँदै आएका सयौं महिलाहरु सहकारीमा आवद्ध भएर जीवन परिर्वतन गर्न सकेको उनले सुनाइन् । सहकारीका माध्यमबाट उनीहरुले बालबच्चालाई राम्रो शिक्षा दिन सकेका छन् भने ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गरेर आर्थिक उन्नति गर्न सफल भएका छन् । कतिपय सदस्यले सहकारी कै कारण शहरमा घर घडेरी जोडेर व्यवस्थित जीवनयापन गर्न थालेका छन् ।
संस्थाले पनि नेपाल बसोबास बस्ती समाज र नेपाल महिला एकता समाजसँग सहकार्य गरेर पीछडिएका महिलाहरुको उत्थानको लागि शिक्षा, सिपमुलक तालिम तथा स्वास्थ्य शिविर जस्ता थुप्रै गतिविधि सञ्चालन गर्दै आएको उनले जानकारी दिइन् । संस्थाले सुरुका दिन देखिनै मासिक बचतलाइ प्राथमिकता दिएको थियो । संस्थामा सदस्य बन्न अनिवार्य रुपमा मासिक बचतमा सहभागि हुनैपर्छ । सदस्यहरुले मासिक रुपमा अहिले न्युनतम ५ सय रुपैया बचत गर्नुपर्छ । मासिक बचतले संस्थालाइ आर्थिक रुपमा टिकाउन पनि ठूलो टेवा पुगेको उनले बताइन् ।
यसरी बन्न पुग्यो सर्वोत्कृष्ट संस्था
संस्था २०६२/६३ सालमा नै नेफस्कूनको सदस्य बनेको थियो । नेफ्स्कुनको सदस्य बने पनि सुरुका दिनमा संस्थाले सामान्य कारोबार बाहेक ब्रान्डिङ कार्यक्रममा सहभागिता जनाएको थिएन । आफनो ज्ञानले जे जानेको छ, त्यहि तरिकाले संस्था सञ्चालन हुने गरेको थियो । त्यो समयमा संस्थासँग बचत तथा ऋण बाहेक अरु कुनै नीति थिएन । भएको नीतिलाइ पनि संस्थाले व्यवहारमा लागू गरेको थिएन । सदस्यको मागको आधारमा ऋण लगानी गर्ने गरेको थियो । ऋण लगानी गर्दा पनि पुरा गर्नु पर्ने कतिपय प्रक्रिया पुरा गर्दैन थियो ।
सदस्यले जतिखेर ऋण माग्थे, संस्थाले सदस्यको कुनै कुरा विश्लेषण नगरी ऋण लगानी गर्दै आएको थियो । समय वित्दै जाँदा संस्थाको कारोवार पनि वृद्धि हुँदै गएको र कारोबार असुरक्षित जस्तो लागेपछि नेफस्कूनले सञ्चालन गरेको प्रोबेशन ब्राण्डमा सहभागी हुने निर्णय गरेको उनले सुनाइन् । एक दिन नेफस्कूनमा गएर संस्थालाइ व्यवस्थित गर्न के गर्नुपर्छ भनेर सोध्दा उहाँहरुले प्रोबेशन कार्यक्रममा सहभागी हुन सुझाव पाएको उनले सुनाइन् ।
उक्त ब्राण्डमा सहभागी हुनुपूर्व काभ्रेको पनौतीमा रहेको लक्ष्मी महिला सहकारीको भ्रमण गर्न भनेकाले संस्थाका सञ्चालक समिति र कर्मचारीले संस्थाको अवलोकन भ्रमण गरेको उनले बताइन् । उक्त संस्थाबाट प्रोबेशन ब्राण्डमा सहभागी हुँदा संस्थालाई व्यवस्थित गर्न सहयोग मिल्ने सल्लाह पाएपछि २०७४ सालमा प्रोबेशन कार्यक्रमका लागि सम्झौता गरेर २०७५ सालबाट उक्त कार्यक्रममा सहभागि भएको उनले जानकारी दिइन् ।
प्रोबेशनमा सहभागी भएपछि संस्थालाइ नीति, विधि र प्रविधिमा आधारित भएर सञ्चालन गर्न अभिप्रेरित गरेको उनले सुनाइन् । संस्थाका लागि आवश्यक नीति र विधि बनाइ त्यसलाइ संस्थामा लागू गर्न नेफ्स्कुनले सहयोग गरेको उनले बताइन । नेफस्कूनले दिएको गाइडलाइनलाइ फलो गरेर सोही अनुसार संस्थाको बचत संकलन र ऋण लगानीलाइ अगाडि बढाएको र यसले संस्थाको वित्तिय व्यवस्थापनमा ठुलो सहयोग मिलेको व्यवस्थापक खड्गीको भनाइ छ । ‘नीति, विधि र प्रविधिलाई आत्मसाथ गरेर अगाडि बढ्दा आजको सफलता मिलेको हो ।’ उनले भनिन् ।
नेफ्स्कूनले दिएको सम्मानले संस्थालाइ थप व्यवस्थित गरेर जान हौसला मिलेको उनले सुनाईन् । शहरी क्षेत्रमा रहेर पनि समुदाय र सदस्य केन्द्रीत संस्थाको रुपमा विकास गरी सदस्यको जीवनस्तर परिर्वतन गर्न खेलेको भुमिकाको नेफस्कूनले उचित मुल्याङकन गरेको उनको भनाइ छ ।
यस्तो छ वित्तीय विवरण
संस्थाले समुहमा कारोबार गर्दै आएको छ । संस्थाका हाल ४२ वटा समुह छन् । समुहमा नै बचत संकलन गरिन्छ र समुहबाटै ऋण लगानीको प्रस्ताव हुन्छ । समुहमा एक जना संयोजक तोकिएको हुन्छ । संयोजकले बैठक बोलाउने, ऋणका लागि सिफारिस गर्ने र मासिक बचत संकलन गर्न सहयोग गर्ने जस्ता कार्य गर्छन् । सुरुमा स सानो ऋण मात्रै लगानी गरेको संस्थाले अहिले धितोमा प्राथमिक पुँजीको १० प्रतिशसम्म ऋण लगानी गर्ने गरेको छ भने फाइभ–सी लाइ पनि ऋण लगानीको आधार बनाएको छ ।त
्यसैगरी सामुहिक जमानीको आधारमा पनि संस्थाले ऋण लगानी गर्ने गरेको छ । जस कारण संस्थाको ऋण असुलीमा खासै समस्या छैन । गत आर्थिक बर्ष २०७९।०८० मा संस्थाको खराव ऋण ५ प्रतिशत भन्दा तल रहेको छ । सदस्यले पेश गरेको कुनै व्यवसायिक तालिमको प्रमाणपत्रका आधारमा उनीहरुलाई उद्यमशील बनाउन ससानो ऋण दिने गरेको छ ।
सुरुमा महानगरपालिकाका ५ वटा वडा मात्रै कार्यक्षेत्र पाएको संस्थाले अहिले कार्य क्षेत्र विस्तार गरेर ११ वटा बनाएको छ । सहकारीको सिद्धान्त अनुसार आफना कार्यक्षेत्र भित्र बसोबास गर्ने स्थानीय महिलाहरुलाई संस्थाले सदस्य बनाएको छ । संस्थाले गत आर्थिक बर्षभित्र शेयर पुँजीमा ३५ लाख रुपैया वृद्धि गर्न सफल भएको छ । कतिपय संस्थाहरु वित्तिय संकटबाट गुज्रिरहेको बेला संस्थामा भने पर्याप्त मात्रामा तरलता रहेको छ । तरलता वृद्धि भइरहेकोले सुरक्षित लगानी गर्नु संस्थाका लागि चुनौति रहेको छ ।
गत आर्थिक वर्षको असारमसान्तसम्म संस्थाको शेयरपुँजी २ करोड २० लाख शेयरपुँजी र हेको छ । सो अवधिमा १४ करोड ७८ लाख बचत संकलन गरेको संस्थाले १४ करोड ११ लाख ऋण लगानी गरेको छ । संस्थाको जगेडा कोषमा १ करोड ३५ लाख रहेको छ भने संस्थागत पुँजी १ करोड ४५ लाख र अन्य कोषहरुमा ६६ लाख रकम जम्मा भएको छ । १५८६ जना सदस्य र ५८९ बाल सदस्य रहेको संस्थाको कुल सम्पत्ति १९ करोड ६९ लाख पुगेको छ । संस्थाले यस आर्थिक वर्षमा प्रोवेशन ब्राण्ड नवीकरणका लागि अडिट गर्ने जनाएको छ ।
‘महिला सशक्तिकरणका लागि प्रविधि सहितको उत्कृष्ट सेवा प्रदायक, दीगो साकोस भन्ने’ नारालाई आत्मसात गरेको संस्थाले महिला सदस्यहरुको आर्थिक, सामाजिक उन्नतिका साथै नेतृत्व विकासमा पनि उल्लेख्य भूमिका खेलेको छ । संस्थाले सहकारी शिक्षामार्फत सदस्यहरूलाइ वित्तीय ज्ञान प्रदान गर्दै आएको छ भने समयसमयमा स्वास्थ्यशिविर आयोजना गरी स्वास्थ्य चेकजाँच गर्न सहयोग गरेको छ । सदस्य सुत्केरी हुँदा २ पटकसम्म पोषणखर्च र सदस्य तथा एकाघरका परिवारजनको निधन हुँदा राहत रकम प्रदान गर्दै आएको छ ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्याइयो, आजै काठमाडौं ल्याइने
रविलाई अदालतमा उपस्थित गराइँदै
राष्ट्रिय सभाबाट ५ वटा विधेयक बहुमतले पारित
पत्रकार मृत्यु र मिडियामाथिको आक्रमणविरुद्ध प्रदर्शन