काठमाडौं: युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाली राजदूतावासमार्फत राहत दिन रुसी सरकार तयार भएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुस–युक्रेन युद्धमा रहेका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा एउटा सफलता हात लागेको बताएका छन् ।
प्रवक्ता राईका अनुुसार रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने भनेको छ । उक्त रकम परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याइनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई राहत रकम दिने उहाँले जानकारी दिएका छन् ।
यसअघि रुसले मृतकका परिवारलाई राहत रकम लिन परिवारको कम्तीमा एक सदस्य रुस नै पुग्नुपर्ने बताउँदै आएको थियो । नेपाल सरकारले पीडित परिवार राहत रकम लिनकै लागि रुस आउन कठिन हुने भन्दै दूतावासमार्फत उक्त रकम नेपाल पठाइदिन अनुरोध गर्दै आएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको एउटा आदेशमा युक्रेनसँगको युद्धमा मारिएका रुसी सैनिकका परिवारलाई ५० लाख रुबल क्षतिपूर्ति दिने र युद्धका क्रममा घाइते भएकाहरूलाई ३० लाख रुबल क्षतिपूर्ति दिने उल्लेख छ ।
दूतावासमार्फत राहत रकम पठाउन रुस सरकार तयार भए पनि यो रकम कहिले आउँछ भन्ने टुंगो छैन । स्रोतका अनुसार मृतकको परिवारले बीमा र राहतबापत १ करोड ५० लाख रुपैयाँ पाउन सक्छन् । तर मृतकको बीमा छैन भने प्रत्येक परिवारले लगभग ७३ लाख रुपैयाँ पाउन सक्छन् ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन