देउवालाई भेटेर एमाले बाजुराका अध्यक्ष ओलीले सुनाए बाजुराका समस्या



मिन बहादुर खड्का काठमाडौं : नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लाल बहादुर ओलीले नेपाली कांग्रेसका केन्द्रिय सभापति समेत रहेका पुर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर बाजुराका समस्या सुनाएका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेर भेटवार्ता गरेका ओलीले जिल्लाका समसामयिक समस्या बारे सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् ।

विगत ७५ जिल्ला हुँदा पनि मानव विकास सूचकांकको ७५ औं स्थानमा रहेको बाजुरा अहिले ७७ जिल्ला हुँदा पनि ७७ औं स्थानमै रहेका पुछारमा रहेको जिल्लालाई अगाडी ल्याउनका लागि पहल गरिदिन पनि ओलीले अनुरोध गरेका छन् । बाजुरा वासीले लामो समय देखी झेल्दै आएका समस्या बारे समष्टिगत रुपमा देउवा मार्फत वर्तमान सरकारलाई सुनाईदिन भनेका छन् ।

मार्तडी कोल्टी सडक खण्ड हरेक वर्ष अबरुद्ध हुँदै आएको, जडाङ्गा मा पक्की पुल बनिसक्दा पनि बेलिब्रीज सार्नका लागि बजेटको व्यवस्था नहुँदा एउटै खोलामा दुई वटा पुल रहेको, जिल्लामा हरेक वर्ष बाढी पहिरोले बितण्डा मच्चाईरहेको हुँदा कयौं बस्तीहरु बस्न लायक नभएपनि बस्ती स्थानान्तरणका लागि राज्यका तर्फबाट ठोस पहल नहुँदा जोखिम मोलेर नागरिक बस्नुपर्ने बाध्यता रहेको,र अन्य पुर्वाधार विकासमा बाजुरा अझै पछाडी परेको भन्दै अन्य थुप्रै समस्याहरु बारे देउवालाई जानकारी गराएको ओलीले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराएका छन् ।

यो संगै ओली देउवा बीचको भेटवार्तामा ओलीले वर्तमानमा गठबन्धन बाहिर हल्ला भए जस्तो यस अघिका गठबन्धनको जस्तो छोटो आयु नहोस् भन्ने कामना समेत गरेका छन् । ओलीले दुई ठुला राजनीति दल मिलेर मुलुकमा राजनीति स्थायित्व कायम गर्नु मुलुकमा सुशासन कायम गर्नु, समृद्धि र विकासको बाटोमा अगाडी बढाउनु वर्तमान आवश्यकता रहेको बताउदै वर्तमान गठबन्धन बनाएकोमा धन्यवाद समेत दिएका छन् । उनले प्रधानमन्त्री भएका ओलीलाई समेत बधाई दिएका हुन् ।

ओलीले देउवा संग विगतका जस्तै गठबन्धन हुने त होईन भनेर राखेको जिज्ञासा्मा देउवाले त्यसमा ढुक्क हुन भनेका छन् । यो गठबन्धन सहमति अनुसार नै अगाडी बढ्ने र विगतका जस्तो नहुने देउवाको भनाई छ । यो संगै ओलीले सुनाएका बाजुराका समस्याका बिषयमा छलफल गर्ने र समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । ओलीले सुनाएका बाजुराका समस्या प्रति देउवा सकारात्मक देखीएका हुन् । ओली र देउवा बीचको यो भेटवार्ता उपलब्धिमुलक र अर्थपूर्ण हुने देखिन्छ ।

नेता ओली र देउवा बीच भएको भेट्वार्ताको कुराकानी जस्ताको त्यस्तै पढ्नुहोस् :

देउवा–ओली भेट

मितिः २०८१ श्रावण ७ गते
समयः बिहान १०ः०० बजे
स्थानः नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति, सभापति श्रद्धेय श्री शेर बहादुर देउवा निवास, बुढानिलकण्ठ

ओलीः सभापति ज्यू, नमस्कार । सन्चै हुनुहुन्छ?
श्रद्धेय देउवाः नमस्कार । बस्नुस् ।
ओलीः मेरो नाम लाल बहादुर ओली हो । मेरो घर बाजुरा हो । म नेपाल कम्युनिष्ट पार्टी (एमाले), बाजुराको पार्टी अध्यक्ष हजुर ।
श्रद्धेय देउवाः भन्नुस्, बाजुराको बारे । तपाईंको घर कुन पालिका हो?
ओलीः बाजुराको अवस्था अहिले सामान्य नै छ । बाढीपहिरोबाट जनताले दुःख पाइरहेकाछन् । वर्षा समयमा बल्दे भन्ने ठाउँमा करिब २ किलोमिटर लामो पहिरोले जिल्ला समदरमुकाम मार्तडीसँग यातायात सम्बन्ध बिच्छेद गराउने डर रहन्छ । फालासैन नजिकको गुइगाड भन्ने खोलाले सडक पुल बगाउँछ कि भन्ने पनि जोखिम छ । मार्तडी–कोल्टीमा पर्ने २ वटा खोलाको कारण यातायात अबरुद्ध छ । बुढीगंगा नदीमा रहेको जडांगाको बेलिब्रिज (सो स्थानमा पक्की पुल बनिसकेको) मार्तडी–कोल्टी सडकमा पर्ने खोलामा सार्ने भन्ने थियो । केन्द्रबाट बजेटको व्यवस्था हुननसकेकोले सार्न सकिएको छैन । यो बेलिब्रिज सार्न बजेटको व्यवस्था गराइदिन अनुरोध पनि गर्छु । केन्द्रबाट ठेका लागेका जिल्लाका कतिपय निर्माण योजना सम्पन्न गर्ने समय भुक्तान भएर पनि काम सम्पन्न नभएको अवस्था छ ।
मेरो घर खप्तड छेडेदह गाउँपालिका (जो बझांग जिल्लासँग जोडिन्छ) मा पर्छ ।
श्रद्धेय देउवाः मलाई भट्नुपर्ने के काम थियोः
ओलीः सर्वप्रथम, प्रयाप्त अवसर र चुनौती सहित नेपाली काँग्रेस र नेकपा (एमाले) को गठजोडमा वर्तमान सरकार बनाउनुभयो, यसका लागि हार्दिक आभार र धन्यवाद भनु भनेर आएको । अझै सुदूरपश्चिम प्रदेशले चार जना क्याविनेट मन्त्री पायो । यसले केहि आशा जगाएको छ । यसका लागि पनि हजुर र नेकपा (एमाले) का अध्यक्ष श्रद्धेय केपि शर्मा ओलीलाई नेकपा (एमाले) जिल्ला कमिटी बाजुराको तर्फबाट आभार एवम् धन्यवाद छ ।
श्रद्धेय देउवाः बाजुराको राजनीतिक अवस्था के छ? यहाँ त बेलाबेला बबाल पनि हुन्छ भन्छन्।
ओलीः राजनीति त चलिरहेकै छ । हजुरले भन्नुभएको पनि सत्य हो । मेरो जिल्लामा विगतमा भएका राजनीतिक अपरिपक्व व्यवहारले जिल्ला प्रति नकारात्मक भाव बनाएको पनि सत्य हो । नेपालमा वुहदलिय व्यवस्थाको पुनर्वहाली पश्चातको राजनीति युवा विद्यार्थीले नै सम्हाल्नु पर्ने अवस्थाथियो । पुराना नेता खासै नभएको अवस्था । विद्यार्थीबाट सोझै जिल्लाको राजनीति सम्हाल्दा क्याम्पसले तताएको तत्कालिन तातो रगत र जोसपूर्ण क्रिया–प्रतिक्रियाका कारण केहि कमजोरी भएको अस्वीकार गर्ने ठाउँ छैन भन्दा हुन्छ ।
श्रद्धेय देउवाः अब के हुन्छ?
ओलीः राजनीतिक परिपक्वता प्राप्त भैरहेको छ । अब निर्वाचनमा मान्छे मर्नु पर्ने घटना हुँदैनन् । विगतका घटनाले पारेका असर हटाउन र पीडितका मन बुझाउन तहगत छलफल भैरहेकाछन् । विगत र भविष्यमा समेत कुनै पनि घटनाका दोषीलाई कानुनसम्मत गर्न सामूहिकता बढिरहेको छ । कानुन र समाजको मान्यता विपरित गर्नेलाई राजनीतिक संरक्षण नगर्ने र निर्दोषलाई फसाउने कार्य गर्नुहुन्न भन्ने आम मान्यता विकास भैरहेको छ ।

हजुरसँग मेरा धेरै मध्ये तीन वटा प्रस्ताव अनुरोध गर्ने अनुमति चाहन्छु ।

ओलीः (क) हजुरहरु दुई सम्मानितको नेतृत्व र दुईटा पार्टीको बीच बनेको यो समझदारी चार वर्षसम्म टिक्न आवश्यक छ । यो दुई दलीय एलाईन्स टिक्ने समयावधि बारे बजारमा विद्वान ज्यातिषहरु टिप्पणी गर्दैछन् । ती सबैका टिप्पणी गलत सावित गर्नुहुनेछ । यो सहमति पूरा मास (महिना) नपुगेर नतुहियोस् । यो नै सायद दलहरु बीचको अन्तिम र उपयुक्त विकाल्पको रोजाई थियो । कुनै पनि प्रकारका आन्तरिक पीडा र राजनीतिक दर्द व्यवस्थापन गरेर पनि जनतालाई व्यवस्था प्रति विश्वास जगाउनुहुनेछ । देशको रक्षा गर्नु, गराउनुहुने अपेक्षा गरेका छौं । विकास निरन्तरको प्रक्रिया होला । तर व्यवस्था प्रतिको भरोसा जगाउने समय यहि हो । यहि राजनीतिक गठबन्धनमा हजुरको नेतृत्वको सरकारले नै २०८४ को निर्वाचन गरेको अुनभूत गर्न पाउने छौं ।

श्रद्धेय देउवाः यसमा सन्देह छैन । तपाईंको कुरा गम्भिर छ । केपि जी र म त पन्चायती व्यवस्था विरुद्ध सँगै चेल भित्रको सेलको पीडा भोगेका छौं । तपाईंले आशा गरे बमोजिम नै हुन्छ । कसले के भन्छ, त्यो बजारको हल्ला मान्नुस् ।

ओलीः ख) नेपालमा ७५ जिल्ला हुँदा बाजुरा जिल्ला विकास सूचकांकमा ७५औं स्थानमा थियो । अहिले ७७ जिल्लामा ७७औं स्थानमा छ । बाजुराको विकास देशको नियमित बजेट र योजनामा समावेश गरिने स्रोतले नहुनसक्ने स्थिति छ । यस जिल्लाको समष्टीगत विकासका लागि विशेष कार्यक्रम विकास गरी केहि वर्ष प्राथमिकताका साथ स्रोतको लगानी गर्न आवश्यक छ । यसमा हजुरले जोड गरिदिनुहुन अनुरोध छ ।
श्रद्धेय देउवाः कुरा थाहा भयो । म छलफल गर्छु ।

ओलीः ग) हजुरले संकेत गर्नुभए अनुसार जिल्लामा राजनीतिक रुपमा नकारात्मक भाव बनिरहेको छ । विगतमा राजनीतिक दलका क्रियाकलाप (विशेषगरी निर्वाचनका समयमा) को कारण जनताले सुरक्षा महशुश नगर्ने अवस्था विकास भयो । विभिन्न पटकका निर्वाचनमा अनाहकमा मान्छेले ज्यान गुमाउनु परेकोले जिल्लाको यस्तो नकारात्मक छवि बनेको छ । नेपाली काँग्रेस र एमालेका विभिन्न तहका नेता बीच विगतबाट सिक्ने र भविष्यमा यस्ता कमजोरी नहुने वातावरण सृजना गरी राजनीतिक दलका गतिविधिमा भ्रातृत्व विकास र सुरक्षित वातावरण सृजना गर्न मलाई लाग्छ सबैमा आत्मवोध भएको छ । बाजुरा जिल्लाबाट दुवै पार्टीबाट केन्द्रीय कमिटीमा रहनुभएका नेता बीच, जिल्ला स्तरको नेतृत्व बीच छलफल चलिरहेको छ । जिल्लामा राजनीतिक दल बीच विश्वासको वातावरण विकास गर्न, शान्ति सुरक्षाको सुनिश्चित गर्न, स्थानीय प्रशासनलाई काम गर्ने वातावरण सृजना गर्न र विकास कार्यमा दलहरु बीच साझा बुझाई बनाएर सहमतिमा काम गर्न, स्थानीय तहबाट सुशासनयुक्त काम गर्न÷गराउन हजुरले पनि बाजुरा जिल्लाबाट रहनुभएका पार्टीका माथिल्ला तहका जिम्मेवार नेताहरुलाई आवश्यक सुझाब दिन आवश्यक महशुश गरेको छु ।
श्रद्धेय देउवाः म साथीहरुसँग कुरा गरौंला । मेरो यसमा साथ रहन्छ ।

ओलीः यति लामो समय उपलब्ध गराउनु भएकोमा हजुरलाई धन्यवाद छ । अब म बिदा हुने अनुमति चाहन्छु ।
श्रद्धेय देउवाः आउनुभयो । राम्रो कुरा भयो । कहिलेकाँहि आइरहनुहोला । समय मिलाएर । हुन्छ ।
ओलीः धन्यवाद, सभापति ज्यू । नमस्कार ।
श्रद्धेय देउवाः नमस्कार ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.