पर्यटक बोलाउदै बाजुराको किम्नीछडा झरना, संरक्षण अभावले ओझेलमा स्थानीय सरकार निरीह



मिन बहादुर खड्का काठमाडौं : राज्यको नजरमा पर्न नसकेको बाजुराको त्रिबेणी नगरपालिका ५ मा रहेको किम्नीछडा झर्नामा किम्नी गाउँबाट २० मिनेटको पैदल यात्रा पछि पुगिन्छ। बाजुरा भौगोलिक हिसाबले विकट भएपनि प्राकृतिक सुन्दरताले भने भरिपुर्ण छ ।

जिल्लामा प्रमुख धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेका सुप्रसिद्ध ठाउँ छन् । बाजुरामा पर्यटकीय सम्भावना बोकेका थुप्रै गन्तव्यहरु छन् । जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु समेत पुग्ने गरेका छन् । संरक्षणकै अभावमा कयौं पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरु ओझेलमा छन् । प्राकृतिक रुपमा निकै सुन्दर भएपनि हेर्न आउने पर्यटकहरुलाई टिकाउन सकिएको अवस्था छैन।एकपटक ती पर्यटकीय गन्तव्यमा पुगेको पर्यटक सास्ती बेहोरेर फर्किने गर्छ र सम्भवत अर्को पटक बिरलै फर्किन्छन् ।

बाह्र पर्यटकहरुलाई आकर्षित गर्ने पर्यटकीय गन्तव्य सम्म पुग्ने सहज यातायातको पहुँच र उचित बासस्थानको व्यवस्था नहुँदा आउँनुपर्ने जती पर्यटकहरु जिल्लामा भित्रीन सकेका छैनन् ।देशकै सुप्रसिद्ध धार्मिक स्थल धार्मिक   आस्थाकाे धरोहर बडीमालिका मन्दिर,बुुुुढीनन्दा  ताल, छेडेदह ताल, नाटेश्ररी मन्दिर, पोरखे लेख, रानिसैन,बिरेखोला झरना जस्ता धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा परिचित ठाउँहरुको नाम प्रचारमा आइरहदा प्रचार प्रसारको अभावमा ओझेलमा छ किम्नीछडा झरना।

जिल्लाकै सबैभन्दा अग्लो ठाउँबाट झर्ने दाबी गरिएको यो झरना जिल्लाको दक्षिणी भेगमा पर्ने यो झर्ना समुन्द्र सतहबाट करिब ७ हजार फिट उचाईमा अवस्थित छ । निकै आकर्षक रुपमा झरिरहेको किम्नीछडा झर्ना करिब ३ सय मिटर दुरीमा झरिरहेको छ। बार्है मास एकैनासले झरिरहने यो झरनाको दृश्य मनमोहक छ । टाढैबाट हेर्दा पनि जोकोहीको मन लोभ्याउने गर्छ ।

किम्निीछडा झरनालाइ राज्यपक्षबाट कुनै पहिचान हुन नसकेको स्थानियको गुनासो रहेको छ । तीन वटै तहका सरकारबाट ओझेलमा परेको किम्नी छडा झरना स्थानीय सरकारका जनप्रतिनिधिकै नजरमा पर्न सकेको छैन। जिल्लाका अन्य स्थानीय तहले पर्यटकीय सम्भावना बोकेका क्षेत्रको खोजीखोजी प्रचार प्रसार गरी संरक्षण प्रबर्द्धन र विकास गरिरहेको भएपनि त्रीवेणी नगरपालिकाले भने किम्नी छडा झरनालाई उपेक्षा गरेको स्थानीय बल बहादुर बुढाले  बताएका छन् ।

प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको ती स्थानीयको भनाई छ । उनले भने, “त्यहाँ सम्म पुग्न सहज बाटो छैन, बाटो निकै अप्ठ्यारो छ, फोटा खिच्न, भिडियो बनाउन आउनेहरू पनि टाढै बाट बनाउनु पर्ने बाध्यता छ, अन्य ठाउँमा सानो कुरालाई पनि प्रबर्द्धन गरेर सुन्दर बनाएका हुन्छन्, हाम्रोमा प्राकृतिको अनुपम उपहार यहीँ झरनाको पनि अहिलेसम्म प्रचार हुन सकेको छैन”

जिल्लाकै अग्लो दाबी गरिएको किम्नीछडा झरनाको संरक्षण प्रबर्द्धन र विकासमा कसैले चाँसो नदेखाएको अर्का एक स्थानीय टेक बहादुर बुढाले बताएका छन् ।गाउँबाटै निकै मनोरम देखिने झरनाको नजिकै गएर हेर्न भने सोचे जती सजिलो नरहेको उनको भनाई छ ।भौगोलिक हिसाबले निकै दुर्गममा रहेको किम्नीछडा झर्ना सम्भवत बाजुरा जिल्लाकै सबैभन्दा ठूलो झर्नाको रुपमा दावी स्थानियले गर्दै आएको भएपनि हालसम्म सरोकारवाला निकायले भने बेखबर जस्तै छन्। किम्नी गाउँ सम्म समेत अहिलेसम्म सडक पुग्न सकेको छैन।

झरना सम्म त झन टाढाको कुरा हो। भौगोलिक हिसाबले दुर्गम रहेकाले पनि राज्यले चाँसो नदेखाएको स्थानीयको बुझाई छ । यो झरनाको प्रचार प्रसार गरी यसको संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने स्थानीय राधा बुढाको भनाई छ ।बुढाले भनिन् हाम्रो जिल्लाकै बडीमालिकामा पर्ने बिरे खोला झरना भन्दा यो झरना अग्लो छ, अनि त्यत्तिकै सुन्दर र मनोरम पनि छ, टाढै बाट हेर्दा पनि छुट्टै आनन्द महसुस हुन्छ, अहिले बिरे खोलामा हरेक वर्षको वर्षातमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्छ, नजिकै सडक पुगेको छ, झरना सम्म पुग्न सहज बाटो छ, अब हाम्रो यो झरना सम्म पुग्न सडक त टाढाको कुरा हो बाटो समेत छैन”

किम्नी गाउँ देखी झरना सम्म  सहज बाटो मात्रै निर्माण भएको भए आन्तरिक पर्यटकहरुले झरनाको अवलोकन गर्थे भन्ने अपेक्षा स्थानीयको भएपनि कसलाई वास्ता नगरेको उनी बताउन्छीन् । किम्नीछडा झरनालाई पनि बडीमालिकामा रहेको बिरे खोला जस्तै प्रबर्द्धन गर्न सकेमा आन्तरिक मात्रै नभैई बाह्य पर्यटकहरु समेत भित्र्याउन सकिने उनले सुनाइन् ।

नेपालमा संघीयता आएको ८ बर्ष बितिसक्दा पनि अन्य पहुँचमा रहेका कयौं स- साना सम्पदाहरुमा राज्यले करोडौं रकम खर्च गर्दा पनि किम्नीछडा झर्नामा भने अहिले सम्म राज्यका तर्फबाट कुनै पहल कदमी भएको पाइदैन । स्थानीय सरकारले अहिलेसम्म संरक्षणमा कुनै चाँसो नदेखाएको स्थानीय युवा विद्यार्थी दिपक बहादुर बुढा बताउन्छन् । किम्नीछडा झर्नालाले त्रीवेणी नगरपालिकाको मात्रै नभई सिङ्गो बाजुरा जिल्लाको पर्यटन प्रवर्द्धनमा निकै ठूलो टेवा पुर्याउने बुढाको भनाई छ ।

बुढा भन्छन् ” झर्नाको संरक्षणको लागि झर्नाको वारि पारी फलामे र्‍यालीङ र पर्यटकलाई आराम गर्न तथा घाम पानी छेक्नको लागि ठाउँ ठाउँमा गोलघर निर्माण गर्न पाए राम्रो हुन्थ्यो, पर्यटकलाई वारि पारिको दृश्य अवलोकन गर्नको लागि झर्नाको बिचमा झुलुङे पुल निर्माण गर्नुपर्ने देखिन्छ, पर्यटकलाई हिडडुल गर्न सहजताको लागि रेलिङ सहितको पथ मार्ग निर्माण गर्न सके यहाँ आफै आन्तरिक पर्यटकहरु आउने थिए”

यो झरनाको संरक्षण र पर्यटन प्रबर्द्धनका लागि स्थानीय सरकार मात्रै होईन प्रदेश र संघ सरकार संग समेत पटक-पटक पहल गर्दै आएको भएपनि सुनुवाई नभएको बुढाको भनाई छ । बिरे खोला झरनालाई जस्तै यो झरनालाई संरक्षण र विकास गर्न सकिने बताउदै बुढाले राज्यको लगानी नै नगर्दा ओझेलमा परेको बताएका छन् ।

झरनाको मनमोहक दृश्यले आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने देखिन्छ । तर तीन वटै तहका सरकाले गरेको उपेक्षाका कारण प्रचार प्रसार र संरक्षणको अभावमा छ । यस्ता हिमाल पहाड तराईको देश नेपालमा मलाई हेर्न आउँ भन्दै पर्यटक बोलाउदै ओझेलिएर बसेका धेरै छन्। पछिल्लो समय मुख्य गरेर सूचना प्रविधिको विकाससँगै कतिपय झरनाले प्रचार पाउन थालेका छन्।

तर यसबाट बाजुराको सबैभन्दा अग्लो झरना दाबी गरिएको किम्नीछडा झरना भने बन्चित छ । अहिलेले फेसबुक, युट्युब, टिकटक, ट्विटर जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताले झरनासँग जोडिएर उत्पादन गरेका सामग्री प्रकाशन प्रसारण गर्ने गरेको भएपनी राज्यको ध्यान पुगेको छैन । यो झरनाको संरक्षण र पर्यटन प्रबर्द्धन गर्न सकेमा आम्दानीको श्रोत बन्ने पनि स्थानीयको बिश्वास छ ।

स्थानीयहरु यो झरनाको प्रबर्द्धन हौसिएका छन् तर राज्य भने निरीह बन्दै आएको छ । सरकार संग आर्थिक सहयोग लिएर झरना क्षेत्रमा यातायातको पहुँच पुर्‍याउनुका साथै पर्यटकमैत्री विभिन्न संरचना निर्माण गर्न स्थानीयवासी अग्रसर हुन थालेका छन्। तर राज्यले सुनुवाइ गरेको छैन ।यो बिषयमा यता त्रीवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापालाई सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सिकेका छैन ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.