भारतमा रोजगारीका लागि गएका बाजुराको बुढीगंगाका ३ जना छुट्टाछुट्टै ठाउँबाट बेपत्ता



मिन बहादुर खड्का काठमाडौं : भारतमा रोजगारीका लागि गएका बाजुराको बुढीगंगा नगरपालिकाका ३ जना छुट्टाछुट्टै ठाउँबाट बेपत्ता भएका छन् । करिब दुई साता यता उनीहरु विभिन्न ठाउँबाट बेपत्ता भएका हुन् । तीन मध्यका एक जना भारतबाट घर आउन लागेका थिए तर बीच बाटोबाटै बेपत्ता भएको बताइएको छ । बेपत्ता हुने तीनै जना बुढीगंगा नगरपालिकाकै छन् । एक अन्दाजी १५ वर्षीय बालक र अन्य दुई जना युवक रहेका छन् ।

 बेपत्ता हुनेमा एक बाजुराको बुढीगंगा नगरपालिका ७ झाली स्थायी घर भएका पारस सार्की रहेक छन् । उनी गत मे ३१ तारिखका दिन भारतको कस्मिरीगेटबाट बेपत्ता भएका छन् अन्दाजी २० वर्षीय ती युवक भारतमै ज्याला मजदुरी गरेर परिवारको दिन गुजारा गरिरहेका थिए।

उनी भारतमा रोजगारीका लागि जाने गरेको तीन चार वर्ष बितिसकेको छ । उनी भारत जाने र घर फर्किने गर्थे । धेरै जसो समय अधिकांस  बाजुराका युवाहरुको भारतमै ज्याला मजदुरी गर्दै बित्ने गर्छ । बेपत्ता सार्कीका ३ वर्षका छोरा छन् ।उनी बेपत्ता भएको १० दिन बितिसक्दा पनि सबै ठाउँ खबर गर्दा कतै नभेटिएको पारिवारिक श्रोतले जनाएको छ । अहिले उनको खोजी कार्य भैरहेको छ। यदि कोही कसैले भेटाएमा आफन्तको सम्पर्क नम्बर १४२४९१८७०००११९१२ मा सम्पर्क गरी सहयोग गरिदिन आफन्तले अपिल गरेका छन् ।

भारतबाट घर हिडेका बुढीगंगाकै अर्का युवक पनि ३ लाख नगद सहित बेपत्ता:

बुढीगंगा नगरपालिका कै एक अर्का युवक पनि ३ लाख नगद सहित बेपत्ता भएको बताइएको छ । यसरी बेपत्ता भएका युवक बुढीगंगा नगरपालिका ४ खोडालबाडा स्थायी घर भएका  अन्दाजी ३४ वर्षीय युवक  किरण रावत रहेका छन् ।

उनी नगद नगद रू ३ लाख १६ हजार नेपाली पैसा बाेकेर मिति २०८१/ जेठ २३ गते भारतकाे गाैरीकुण्डबाट घर जाने भन्दै निस्किएका थिए । तर उनी अहिले सम्म सम्पर्क बिहीन रहेको आफ्न्त  गणेश  बुढा (जिएन)ले बताएका छन् । उनलाई काहिँ कतै भेटाएमा आफ्नतको सम्पर्क नम्बर  ९८६८२७००४७ र ९८४८७८४८६० मा सम्पर्क गरी सहयोग गरिदिन आफन्तको अपिल छ । रावत भारतमा गएर ज्याला मजदुरी गरेर परिवाको दिन गुजारा गर्थे । नगद पैसा सहित घर हिडेका उनी बीच बाटोमै लुटिएको हुन सक्ने आफन्तको अनुमान छ ।

१५ वर्षीय बालक सुनिल बेपत्ता भएको पाँच दिन बित्यो, अझै सम्पर्कमा आएनन् :

बुढीगंगा नगरपालिका १० का बेपत्ता रहेका १५ वर्षीय बालक सुनिल रावल पनि परिवारको सम्पर्कमा आएका छैनन् । उनी बुढीगंगा नगरपालिका १० का स्थानीय हुन् । उनी बुवा नौले रावल र मामा नरेश खड्काको साथमा बस्दै आएका थिए। सुनिल बेपत्ता भएको ५ दिन बितिसकेको छ । उनी भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका थिए। उनलाई भारतमा एउटा घरमा काम लगाइएको थियो । त्यहीँबाट घर फर्किने क्रममा उनी बेपत्ता भएका थिए। सुनिल २०२४ जुन ५ तारिख ( बुधबार) हिजोबाट परिवारको सम्पर्कमा छैनन् । एक महिना अगाडी घरबाट भारतको नयाँ दिल्ली पुगेका उनलाई एउटा घरमा काम लगाइएको थियो । उनी बुधबारबाट सोही घरमा काम गर्ने र खाने बस्ने गरी काममा निस्किएका थिए। उनलाई उनका बुवाले काम गर्ने घरमा पुर्याएका थिए।

बेपत्ता सुनिल दिउँसो २ बजे नै काम गर्ने ठाउँबाट निस्किएको बताइएको छ । बेलुका काम लगाएको ठाउँ बुझ्न जाँदा उनी दिउँसो नै निस्किसकेको प्रतिक्रिया दिएका थिए । उनी हिजोबाट कहाँ गए भन्ने कुरा अत्तोपत्तो नभएको उनका मामा नरेश खड्काले जानकारी दिएका छन् ।

रोजगारीका लागि भारत गएका कयौं फर्किदैनन् : घर फर्किने अधिकांस बीच बाटोमै हराउन्छन् : 

अधिकांस बाजुराका युवाहरु भारतमा ज्याला मजदुरीका लागि जाने गरेका छन् । धेरै जसो त सपरिवार भारतमै बस्ने गरेका छन् । रोजगारीको सिलसिलामा भारत गएका अधिकांसको भारतमै विभिन्न कारणले मृत्यु हुने र कयौं उतै बेपत्ता हुने गरेको काहालीलाग्दो अवस्था छ । घर फर्किनका लागि भारतबाट हिडेका अधिकांस युवक घर नपुग्दै बीच बाटोमै लुटिने गर्छन् । कयौं बीचमै लुटिएर रित्तो हात  फर्किने गरेका छन् । भने कयौंको अहिले सम्म आतोपत्तो छैन । खेतीपाती  गरेर ६ महिना पनि परिवारको छाक तार्न नपुग्ने भएपछि भारत लगायतका बिदेशी मुलुकमा ज्याला मजदुरी गेरेर परिवारको दिन गुजारा चाउनुपर्ने बाध्यता छ। कयौं बेपत्ता कयौं अङ्गभङ्ग, कयौंको मृत्यु भएका घटनाहरु समय समयमा सार्वजनिक हुँदै आएका भएपनि बिदेशीने क्रम भने बढ्दो छ।

सिमा नाकामा होस् वा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा होस् बिदेशीने नेपालीको ताती छ । कयौंको मृत्यु भएर नेपालीहरु बाकसमा लास बनेर फर्किन्छन् । वर्षेनी ५ लाख बढी युवा बिदेशीने गरेका छन् भने १ हजार बढी युवाहरु लास बनेर नेपाल बाकसमा फर्किरहेका छन् । तर राज्यलाई यो काहालीलाग्दो अवस्था प्रति कुनै चिन्ता र चाँसो छैन ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.