दु:ख कसलाई सुनाउने ? हामी मजदुर किसानका कुरा सरकारले सुन्दैन



मिन बहादुर खड्का काठमाडौँ । उमेरले ६६ वर्षिय पर्सा जिल्लाको पर्सागडी नगरपालिका २ का गरिबमुख्या बिन काठमाडौँको भृकुटिमण्डपमा भेटिए। कपाल फुलेर सेतै भइसकेका त्यसैमा दमको बिरामी पनि रहेछन् उनी। मिटर ब्याज पिडीत भएकाले आन्दोलनमा सहभागि हुन पर्साबाट हिँडेरै काठमाडौँ सम्म पुगेको उनले बताए ।

छिटोछिटो स्वास फेरिरहेका उनले मलिन स्वरमा आफ्नो दुखेसो सुनाउदै भने, “ खुट्टा दुखेर हिड्न सक्ने स्थिति छैन, कहिँले खाना खाँयौँ कयौँ रात बाटोमा पनि भोकै सुत्यौँ, खुट्टाभरी फोका उठेका छन्, हिँड्दा हिँडदा खुट्टा नै सुनिएका छन्, न साथमा पैसा छ, बाटोमा पाउनसम्म दुःख पाइयो, कसलाई सुनाउने ? सरकारले हामी मज्दुर किसानको कुरा सुन्दैन, सुन्छ कि भन्ने आसले यहाँ सम्म आएका हौँ”

अर्काको साहारामा बाँच्ने अवस्थामा पुगिसकेका उनलाई आफुमाथि भएको अन्यायका बिरुद्ध लडने साहासले नै काठमाडौँ पुर्यायो ।

दुई छोराछोरी सहित चार जनाको परिवार थियो उनको । २०७० सालमा छोरीको बिवाह पनि गर्नुपर्ने र घरमा आर्थिक समस्या पनि भएपछि गाँउकै साहुसंग ऋणका लागि गएँ । साहुले १० कठ्ठाज  जमिन धितो राख्ने सर्तमा उनलाई ऋण दिन तयार भए। त्यसपछि उनले साहुबाट ऋण लिए । विगत तिर फर्कदै उनि सुनाउन्छन् “ऋण लिएको तीन वर्षमात्रै भएको थियो, साहु घरमा आइपुगे, २ लाखको ब्याज सहित ३ लाख ५० हजार भइसकेको भने, कित पैसा तिर होइन भने जमिन छोड भनेर धम्कि समेत दिए, त्यो वेला तिर्न नसकेपछि  जग्गा हडप्यो, त्यसपछी केही समय पछाडी मैले ३ लाख ६० हजार तिरे, त्यसपछि फेरी ७९ हजार मात्रै बाँकी थियोण्” उनले थप्दै भने “मलाई लेखपढ गर्न आँउदैन, मलाई झुक्याए, पैसा तिर्दापनि कागज बनाएनन् जमिन पनि फिर्ता गरेनन् ७९ हजारबाट ब्याज बढाउदै गए, अहिले पैसा नतिरेको भन्दै मुद्धा हालेका छन्”

१० लाख रुपैँया दिएपछि जग्गा फिर्ता दिने भन्दै आफु नभएको बेला घरमा भएकी श्रिमतीलाई कागज बनाएर हस्ताक्षर गराएको उनको गुनासो छ । आफुहरुलाई कमजोर अशिक्षित भएकै कारण त्यहाँका साहुमर्जनहरुले आफुहरुलाई ठगेको उनको आरोप छ ।

महोत्तरीको बग्दागोणीका नगरपालिकाका लक्ष्मि राउत भेडियार घरबाट काठमाडौँका लागि भनेर आएको आज २८ दिन भयो। उनको पिडा पनि पर्साका गरिब मुख्याको भन्दा फरक छैन । रावत उमेरले ६८ वर्ष बढीको भइसकेको बताउन्छन् । लठ्ठीको साहारामा उनि २३ दिनको पैदल यात्रा गरेरै काठमाडौँ पुगे।

उनले भने, यो बेला घरमा आराम गर्ने बेला हो, गाँउमा साहुले सताउन्छ, कहाँ जाने ? कमाइ खाने जग्गा सबै साहुले लिलाम गर्यो, तर हामी न्याय माग्न हिँडेरै यहाँ सम्म आयौँ, सरकारले हामीलाई न्याय दिए घर फर्किन्छौ नत्र यतै मर्छौ।उनि गत बिहिबार मात्रै काठमाडौँ पुगेका थिए ।

बाटोमा हिँदेर आँउदाको दुख कष्ट सुनाएर फाइदै नहुने उनि बताउन्छन् । उनलाई बाटोमा आँउदा र यहाँ बस्दाको दुख कष्ट भन्दा पनि न्याय पाउने कि नपाउने भन्ने कुराले बढी पिरलिरहेको छ । सरकारले आफुहरुको माग सम्बोधन गरे सबै पिडाहरुमा मलम लगाउन सहयोग पुग्ने उनको भनाई छ। उनले गाँउकै साहुबाट छोराको बिवाह र छोरालाई बिदेश पठाउनका लागि २ लाख रुपैँया ऋण लिएका थिए । उनले अहिलेसम्म ब्याजमात्रै ७ लाख बढी तिरिसकेका छन् ।

अहिले उनि संग भएको ३ कट्टा जग्गा पनि साहुले लिलाम गरिसकेको छ । उनले भने, “सुरुमा ७ हजार, लिएँ त्यसपछि ४० हजार, र त्यसपछि १ लाख रुपैँया लिए, त्यसको पाँच वर्ष पछि ३५० हजार भयो भने, बिस्तारै ब्याज बढाउदै गए, हामी अशिक्षितहरुलाई झुक्याए, त्यहिँ ऋणका कारण मेरो तीन कठ्ठा  जमिन पनि लगिदिए, मलाई मेरो जग्गा फिर्ता चाहियो”

यस्तै घरबाट हिँडेको २० दिनपछि मात्रै काठमाडौँ पुगेकी थिइन् रौटहतको गरुडा नगरपालिका १ की ४० वर्षिय सेहेरा खातुङ पनि । श्रिमान बिदेशमा छन् उनका, घरमा नाबालक दुई छोराछोरी छाडेर आएकी छन् । आफुमाथिको अन्याय सहन नसकेर आन्दोलनमा सहभागि हुन राजधानी आएकी उनलाई घरमा रहेका नाबालक छोराछोरीको पिर छुट्टै छ । उनले पनि सुरुमा गाँउकै जनमल महत्तोबाट ५० हजार ऋण लिएकी थिइन् । उनले ऋण लिएको अहिले १० वर्ष भयो। ऋण लिएको चार वर्ष पछि उनले २ लाख ५० हजार तिरिन् तर उनको कागज बनाइएन ।

उनका श्रिमान भारत थिए । गाँउकै लेखक भनेर चिनिने दिनेश पत्वारी नाम गरेका व्यक्तिले आनावश्यक कागज बनाएर हस्ताक्षर गर्न लगाए ।
पैसा तिरिसकेपछी उनलाई फेरी अर्को कागजमा ऋण तिर्न बाँकी भनेर अर्को कागजमा हस्ताक्षर गर्न लगाएको उनी बताउन्छिन् । श्रिमान घरमा नहँदा आफुलाई झुक्याइएको उनको दुखेसो छ । उनले भनिन्  “मैले सबै पैसा तिरिसक्दा पनि अनावश्यक कागजमा हस्ताक्षर गराएर झुक्याइयो, अहिले ११ लाख तिर्नुपर्ने भन्दै मुद्धा हालेर मैले मुद्धा खेपिरहेकी छु,” उनले फेरी थप्दै सुनाइन् “पैसा नतिरे मार्दिन्छु भन्छन् जेल जानुपर्ने भन्दै धम्काउन्छन्, नाबालक छोराछोरी घरमा छोडेर आएकी छु, श्रिमान घर छैनन् पैसा तिर्न सक्ने स्थिति छैन, मैलाई झुक्याएर हस्ताक्षर गर्न लगाएको कागज खारेज हुनुपर्छ” उनले आफ्नो दुखेसो पोखिन्

गाँउबाटै स्थानीय सरकार संग पटकपटक गुहार गर्दा पनि सुनुवाई नभएको रौतहतकै सेखजमिरु दिनले बताए । उनले २ वर्ष अगाडी २ लाख रुपैँया ऋण लिए । त्यसपछि उनलाई समयमा पैसा नतिरेको भन्दै जिल्ला अदालत रौतहतमा मुद्धा दर्ता गरे। अहिले आफुले मुद्धा खेपिरहेको उनि बताउन्छन् । मुद्धा मात्रै खेपिरहेका छैनन् उनको ३३ लाख बराबरको जग्गा पनि लिलाम भएको छ । अहिले १५ लाख रुपैँया दिए मात्रै मुद्धा फिर्ता लिने र जग्गा पनि फिर्ता गर्ने उनलाई ऋण दिने व्यक्तिको सर्त छ । उनलाई हिरासतमा समेत राखिएको थियो । जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार धाँउदा धाँउदा थाकिसकेपछि राजधानीको यात्रा तय गरेको उनको भनाई छ। आफुहरुको पिडा कसैले नसुनेपछि सरकारले त सुन्छ होला नि भन्ने अपेक्षा सहित काठमाडौँ सम्म आइपुगेको उनले बताएक छन् । आफुहरु सबैको एउटै अपेक्षा सरकाले न्याय दिन्छ भन्ने रहेको उनले बताए ।

एक प्रतिनिधि पात्र मात्रै हुन् । सुदूर पुर्व र सुदूरपश्चिमबाट काठमाडौं आइपुगेका कसैको पिडा पनि फरक छैन ।   सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौँ आएका मिटर ब्याज पीडितहरू निरन्ततर सडक संघर्षमा छन् । शुक्रवार सिंहदरबार क्षेत्र प्रवेश नपाएपछि भृकुटीमण्डप सडक खण्डमै धर्ना बसे । उनीहरु न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘सिंहदरबार मार्च’मा निस्किएका थिए ।

मिटर ब्याज पीडितहरूले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका थिए । पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेको थियो। उनीहरू बुधवार बेलुका थानकोटस्थित पार्कमा बसेका थिए । बिहीबार सिंहदरबार आउने कार्यक्रम भए पनि पानीका कारण रोकिएका उनीहरू मात्रै सिंहदरबार आइपुगेका थिए ।

न्याका लागि काठमाडौँ पुगेका कयौँ मिटरब्याज पीडीतहरुको कसैको पनि गुनासो फरक छैन । उनिहरु सबै बैँक र साहुको ऋण तिर्न नसकेकै कारण घरबार बिहन्् बनेका छन् । उनिहरुको बैक र साहुले भए भरको सम्पति मात्रै लिलाम गरेन जग्गा जमिन समेत लिलाम गरिसकेको छ। घर जग्गा र सम्पति मात्रै लिलाम गरेको पीडा मात्रै उनिहरु संग छैन । ऋण तिर्न नसकेकै कारण कारागार बस्नुपरेको सम्मको पीडा उनिहरु संग छ । साहुले उनिहरुलाई धम्कि र दवाव नदिएको दिन नै छैन ।

एक महिना सम्म निरन्तर हिँडेरै सिंहदरबारलाई आफ्ना पीडा सुनाउन राजधानी सम्म पुगेका उनिहरु स्थानीय सरकारले पनि केही चाँसो नदेखाएको बताउन्छन् ।निरन्तर न्याको माग गर्दै सडक संघर्षमा रहेका उनिहरुको आइतबार काठमाडौँको भृकुटिमण्डपबाट मार्च कार्यक्रम सुरु भयो । बृद्ध अवस्थामा घरमा बसेर आराम गनुपर्ने बृद्धबृद्र्धाहरु उक्त मार्च कार्यक्रमको लाइनमा उभिएका देखिन्थे। कसैको त खुट्टामा चप्पल समेत थिएनन् । नाङ्गै खुट्टा उक्त मार्च कार्यक्रममा सहभागि भएका थिए ।

 सर्लाहिबाट सात महिने शिसुलाई काखमा च्यापेर काठमाडौँ पुगेकी एक महिला पनि लाइनमै उभिएर बच्चा काखमा च्यापेरै कार्यक्रममा सहभागि थिइन् । आइतबार मार्च कार्यक्रममा सहभागि उक्त दृश्य हर्दा निकै काहालिलाग्दो थियो ।ताकी उनिहरु रहले काठमाडौँ आउने त कुरै रहेन । उनिहरुको  मुहारमा देखिएको निराशाले सिँहदरबारमा बस्नुहरुलाई गिज्याइरहेको छ । तर उनिहरुको फाटेको पैतलाले काठमाडौँका चिल्ला सडकमा करोडौँको गाडी चढ्नेहरुलाई छुएको छैन ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही 9848222440
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.