मिन बहादुर खड्का बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका ४ कुरुकी लोक देउडा गायीका रोशनी रोकाय सानै उमेर देखि गीत गाउँन रुचि राख्थिन् । रोकायाले कलाकारिता क्षेत्रमा प्रवेश गरेको मात्रै दशक बित्न थाल्यो । विद्यार्थी उमेरमा पनि बिद्यालयमा र गाउँमा आयोजना हुने कार्यक्रममा रोकाया गीत गाउन्थिइन । गीत मात्रै गाउँने चाहाना थिएन उनको गायिका नै बन्ने धोको थियो । तर चाहाना पूरा गर्ने कुरामा आफ्नो अगाडी बाध्यताको प्रखाल जहिले उभिएर आउन्थ्यो उनले विगत स्मरण गर्दै सुनाइन्, “गीत गाउँने चाहाना थियो, गाउँमा आयोजना हुने कार्यक्रममा गाउन्थे, प्राय त्यो बेला लाइभ देउडा बढी खेलिन्थ्यो, अहिलेको जस्तो बजारको गीत गाउँने भन्दा पनि राम जात्रा ( मेला ) मा लाइभ देउडा खेल्ने गर्थें”
लाइभ देउडा बाट गाउँमै हुँदा पहिचान बनाईसकेकी रोकायाको आवाज पनि सानैमा सुनौ सुनौ लाग्ने थियो । उनको आवाज सुन्नेहरुले रोशनी तिमी गायीका बन्छौँ भनेर भन्थे, उसो त रोशनीको चाहाना पनि यहीँ थियो । तर उनी भन्छन् चाहानाले मात्रै नपुग्दो रहेछ। उनले कलाकारिता क्षेत्रमा प्रवेश गरेपछि गरेको संघर्ष बारे भनिन् “धेरै दु:ख गर्नुपर्यो, सोचेजस्तो सजिलो छैन कलाकार बन्ने कुरा, गाउँमा हुँदा त कलाकार बन्दा राम्रै हुन्छ भन्ने लाग्थ्यो तर अहिले कति दु:ख हुने रहेछ भनेर भोग्दै छु, कलालारिता क्षेत्रमा कति दु:ख हुन्छ सुनाएर फाइदा नै छैन तर मलाई लाग्छ संघर्ष नै जीवन हो, त्यसकारण संघर्ष निरन्तर गरिरहेकी छु, एकदिन सफल हुन्छु भन्ने बिश्वास छ”
रोकायाको बाल्यकाल भने निकै दु:खद बित्यो। उनका एक दाई र एक बहिनी छन् । चार कक्षामा पढ्दै गर्दा उनले बुवा गुमाईन्। उनले बुवा मात्रै गुमाईनन् सवथोक गुमाईन् । परिवारको खुसी लिटियो, तीन वटै भाईबहिनीको भविष्य उजाड जस्तै बन्यो। सानैमा बुवा गुमाएकी उनी बुवाको माया ममता बाट मात्रै बन्चित भैइनन् उज्ज्वल भविष्यको सपना समेत गुमान् । बुवाको मृत्यु पछि सिङ्गो परिवारको जिम्मेवारी आमाको काँधमा आयो। बुवाको मृत्यु पछि उनको परिवारमा पारिवारिक संकट छायो ।
त्यसपछि रोशनीले सुखको अनुभुती समेत गर्न पाइनन् । समय बित्दै गयो बुवाको माया र साथबाट बन्चित हुनुपरेपनि आमाको अनुहारमा चित्त बुझाउन्थे रोशनीका तीन भाई बहिनी तर बुवाको मृत्यु भएको झण्डै चार वर्ष पछि आमाले समेत अर्को संग बिवाह गरेर गैइन् । सुरुमा बुवा गुमाएका उनीहरुले आमाहरु त छन् नी भनेर चित्त बुझाएका थिए तर अन्ततः आमाले नै छोडेर गएपछि थप पारिवारिक संकट छायो । आमाबुवा दुबैको मायाबाट तीन भाईबहिनी बन्चित भए ।
एउटा सन्तानका लागि यो भन्दा अर्को ठूलो बज्रपात अरु केही हुन सक्दैन । उनको विगत निकै दु:खद छ, विगतमा उनको परिवारले झेलेको पारिवारिक सन्नाटा हेर्दा जसको पनि मन पोल्छ होला । आमाबुवाको मायाबाट मात्रै बन्चित हुनु परेन खेतीपातीकै भरमा दिन गुजार्न समेत मुस्किल भयो । कमाउने कोही थिएनन् । त्यसपछि उनका दाईको काँधमा परिवारको सम्पुर्ण जिम्मेवारी थपियो । दाईलाई रोशनीले पनि सघाउन थालिन् । दुई दाई बहिनी मिलेर छाक तार्न थाले । रोशनीले कक्षा १० सम्म गाउँकै बिद्यालयमा पढिन् ।
त्यसपछि १० कक्षा उतिर्ण भएपछि सदरमुकाम थप अध्ययनका लागि आइन् । उनी मार्तडीमा रहेको मालिक नमुना माविमा भर्ना भैइन्। त्यहीँबाट कक्षा ११/१२ कक्षा उतिर्ण गरिन् । त्यसपछि भने उनको पारिवारिक स्थितिले पढ्न सक्ने अवस्था थिएन । दाई एक्लैको कमाईले परिवारको खर्च धान्न, र सबैको पढाई गर्न सम्भव थिएन । त्यसकारण उनले पढाईलाई त्यहीँ बिट मार्ने निर्णय गरिन् । उनले आफ्नो पढाईलाई अगाडी बढाउन सकिनन् । उनको सानै देखीको कलाकार बन्ने धोको थियो । उनले सदरमुकाममा पढ्दै गर्दा कलाकारहरु संग चिनजान गर्ने अवसर पाइन् । रोकायाले सदरमुकाममा आफ्नो आफन्त संग बसेर पढिन् ।
लाइभ देउडा खेलेरै पहिचान बनाईसकेकी रोकाया सदरमुकाममा हुँदा जिल्लामा हुने महोत्सव, साँस्कृतिक कार्यक्रममा सहभागी हुन्थिन् । उनलाई अग्रज कलाकारहरुले पनि माया नै गर्थे । धेरै कलाकारहरु त उनको आवाजबाट नै प्रभावित भएर सहयोग गर्थे । एकातिर उनको आफ्नै कलाकार भन्ने सपना थियो अर्कोतिर स्वर्गीय बुवाले पनि उनलाई गायीका बनाउने चाहाना थियो । पारिवारिक जिम्मेवारीले थिचिएकी रोकाया आफ्नो सपना मार्न सक्थिन् तर उनका बुवाको कलाकार बनाउने धोको पूरा गर्नकै लागि भएपनी गायन क्षेत्र नछाड्ने निधो रोकायाले गरिन् ।
उनलाई जति सुकै संघर्ष र दु:ख गरेर भएपनि बुवाको सपना पूरा गरेरै छाड्ने हुटहुटीले छोडेन । एकातिर बाध्यता र परिस्थितिले घेरिरहेकै थियो। अझ उनको साथबाट दु:ख कष्ट र अभावहरु कहिँले टाढा भएनन् । बरु हाँसो खुसी कहिँले नजिक आएन । तर रोकाया पीडा लुकाएर खुसी हुन बाध्य छन् । रोकायालाई मुटु माथी ढुङ्गा राखी हास्नु परेको छ भने झै हुन्छ उनी विगत तिर फर्किनै चाहानन् । विगत सम्झिदा उनलाई आफैलाई समाल्न सक्दिनन् । त्यसपछि उनी करिब तीन वर्षको सदरमुकाम मार्तडीको बसाईलाई बिट मार्दै संघीय राजधानी आइन् । उनले सुरुमा काठमाडौंमा धेरै दु:ख गर्नुपर्यो, अवस्था अनुसार दाईले सहयोग गरिरहेका थिए। तर अन्ततः उनले काठमाडौंमा काम गर्न थालिन् अहिलेपनि उनी दोहोरी साँझमा नै काम गर्छन् ।
झन्डै एक दशक कलाकारिता क्षेत्रमै बिताइसकेकी रोकायाले कक्षा १२ उतिर्ण गरेपछि मात्रै औंपचारिक रुपमा कलाकारिता क्षेत्र प्रारम्भ गरिन् । उनको कलाकारिता क्षेत्रको पहिलो गीत थियो “उज्गलो बन भयो खेत रोपी पहिराले लियो”कसो प मन भयो मेरा प्यारा प्रदेशीको” नामक देउडा गीतबाट उनले आफ्नो कलाकारितालाई अगाडी बढाएकी थिइन् । उनलाई गाउँमा गायीका भनेर त पहिले नै चिन्थे तर बजारमा पहिलो रेकर्ड भएको गीत भने त्यहीँ उज्गलो बन भयो थियो । जुन गीतको शब्द संगीत गायक मोडेल तथा निर्देशक राजेन्द्र रावतले गरेका थिए। पहिलो गीत गाउने अवसर नै रावतले दिएको उनले बताइन् ।
यतिमात्र होइन उनले रावतकै शब्द संगीत गरेका थुप्रै गीतहरूमा आवाज दिएकी छन् । रावतले आफुलाई धेरै सहयोग गरेको र उनकै गीतबाट गीत गाउने अवसर पाएको उनको भनाई छ । रमाइलो रानीवन, जोगी छैन कुटी, लगायतका दर्जनौं गीतहरूमा आवाज दिसकेकी छन् । आवाज मनछुने भएकै कारण उनले गीतमा लगानी गर्नुपर्ने अवस्था आएन, उनले अरुकै गीतहरू अहिलेसम्म गाएकी छन् । एउटा गीतमा मात्रै आफुले अहिलेसम्म लगानी गरेर गाएको उनले बताइन् । जून गीत उनले आफ्नो बुवाको सम्झनामा गाएकी छन् । लोक देउडा गायिका भनेर चिनिने रोशनी अन्य बिधाका गीतहरू पनि गाउन्छीन् ।
उनले पछिल्लो समयमा नाम चलेका कलाकारहरु संगको सहकार्यमा गीत गाउँने अवसर समेत पाएकी छन् । चर्चित लोक दोहोरी गायक नेत्र भण्डारी संग उनले पिरको भारी आँसुको रारा ताल, हेरेर जाउ एकचोटि मेरो हाल, नामको लोकदोहोरी गीत गाएकी छन् । जुन गीत बजारमा आउन बाँकी छ । उनी दोहोरी पनि गाउन्छीन् । अहिले दोहोरो साँझमा काम गरेर नै काठमाडौंको बसाई धानिरहेकी उनी बहिनीलाई समेत संगै राखेर पढाईरहकी छन् ।
उनको काँधमा अभिभावकीय जिम्मेवारी छ, जुन उनले निर्वाह गरिरहेकी छन् । बुवाको मृत्यु पछि आमाले पनि अर्को बिवाह गरेपछि पारिवारिक जिम्मेवारीले पिल्सिएकी रोकाया विगत तिर फर्केर भन्छिन् “दु:ख के हो सबै भोगियो, अहिले पनि दु:ख नै छ, तर म खुसी पनि छु, किनकी मैले एउटा अभिभावकको भुमिका निर्वाह गरिरहेकी छु, बहिनीलाई आफ्नै खर्चले पढाएकी छु, म विगत तिर फर्कनै चाहान्न, विगत सम्झियो भने आँखाबाट आँसु बाहेक केही आउँदैन, आफुलाई समाल्न नै गाह्रो हुन्छ, अभाव, गरिबी, दु:ख, संघर्षको पाठ सबै परिस्थितिले सिकायो, परिस्थितिलाई आत्मसात गर्दै बाध्यताता प्रखालहरु भत्काउदै धेरै संघर्ष गरेर भएपनी गीत गाउँने सपना भने पूरा गरियो”
रोकायालाई बुवाको मृत्यु पछि परिवारमा छाएको संकटले गर्दा गीत गाउँने सपना अब पूरा हुन्न जस्तो लाग्यो। गायीका बन्ने आफ्नो बाल्यकाल देखीको धोको, अनि गाउँ समाजले पनि गायीका बन्छन् भनेर हेर्ने भएकाले पनि रोशनीलाई गायीका बन्नु थियो । त्यसकारण पनि रोकायाले हिम्मत हारिनन् । पटकपटक पारिवारिक सान्नताले घेरिरह्यो,उमेर बढे संगै जिम्मेवारी पनि काँधमा थपिदै गयो, पारिवारिक परिस्थितिले सधै घेरिरह्यो ।
पारिवारिक जिम्मेवारीले यतिसम्म पिल्सियो जुन परिस्थितिबाट माथी उठ्न नै मुस्किल थियो ।उनले भनिन् “एउटै दाईको भरमा सबै खर्च धान्ने स्थित थिएन, दुबैले संघर्ष गर्दा गर्दा अहिले ठिकै छ, आमाबुवा नहुँदाको दु:ख अभाव सुनाइरहन पर्दैन होला सायद, कतिसम्म दु:ख झेल्नुपर्यो म अहिले भन्न पनि सक्दिन, सुरु सुरुमा गाउँमा हुँदा कसरी दिन गुजार्ने भन्ने नै प्रमुख समस्या भयो, तर पनि जसो तसो संघर्ष गर्दै यहाँ सम्म पुगियो”
निकै कडा मिहिनेत, दु:ख र संघर्षले माथी उठेकी रोकाया अहिले गीत गाएरै आफ्नी बाहिनी र दाइको छोरालाई काठमाडौंमा पढाउन्छन् । पहिला जस्तो खान लाउनकै अभाव उनलाई छैन।
गायीका रोकाया भन्छिन् ” मलाई भाइरल भएन भन्ने कुरामा कुनै चिन्ता छैन,म दर्शकहरुमा नमर्नेगरी नमेटिने गरि स्थापित हुने प्रयत्न गर्दै छु, एक दुई दिन भाइरल बनेर परालको आगो निभे जस्तो भुसुक्कै निभ्नु छैन, अर्थात हराउनु छैन, सधै कलाकार भएरै बाँच्ने धोको छ, काठमाडौं जस्तो सपनाको सहरमा मैले बहिनिलाई दाइको छोरालाई पढाउनु र खर्च चलाउनु नै मेरो सफलता हो ठाएकी छु, धेरै पैसा कमाउनु भन्दा पनि आफु स्थापित हुन चाहान्छु” उसो त सबै कलाकारहरु संघर्ष बाट नै माथी उठेका हुन्छन् तर रोकायाले गरेको संघर्ष पृथक छ ।
उनले कयौं बाधा अड्चनहरुलाई चिरेर कलाकारितामा स्थापित हुने प्रयत्न गरिरहेकी छन् । कयौं कष्टकर क्षेणहरु, कयौं बाध्यताका प्रखालहरुलाई भत्काउदै अगाडी बढेकी उनी र उनको जीवनको संघर्ष अरुले सिक्क र अनुशरण गर्न लायक छ। धर्यता लगनशीलता, शहनसिलता र निरन्तरता पनि रोकायाबाट सिक्नुपर्ने पक्ष हुन् । उनेले कयौं कष्टहरु सहदा पनि हिम्मत हारिनन् । रोकाया पछिल्लो पुस्ताम देउवा प्रेमीहरुका लागि मात्रै नभैई अन्य गीत संगीत प्रेमीहरुले पनी रुचाउँने कलाकार हुन् ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत