२० वर्षदेखि भारतमा हराएका बाजुराका पुने धामी, छोराको बाटो कुर्दाकुर्दै अस्ताए बुवाआमा



मिन बहादुर खड्का / काठमाडौं : २ वर्षीय छोरा सुशील धामी र ६ वर्षकी छोरी सरिता धामीलाई बुवाआमा र श्रीमती मातादेबी धामीको जिम्मा छोडेर २२ वर्ष अघि रोजगारीका लागि भारत गएका थिए बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ खातीगाउँका पुने धामी ।

अन्दाजी ४० वर्षीय धामी सानै उमेर देखि प्रदेशीन बाध्य थिए । उनी आउने जाने गरिरहन्थे । रोजगारीका लागि भारत गएर परिवारको दिन गुजारा गर्ने धामी यहीँ सिलसिलामा २०५९ साल ५ महिना १० गते नाबालक छोराछोरीलाई बुबाआमा र श्रीमतीको साथमा छोडेर भारत तर्फ लागे । पारिवारिक श्रोतका अनुसार धामी भारतको भोजपुर भन्ने ठाउँमा नौकरी गर्थे ।

त्यस अघिको जस्तो आउने जाने क्रम त्यहीँ दिन देखी उनको रोकियो । आईरहने गैरहने धामी झन्डै २२ वर्ष देखि घर फर्किएका छैनन् । भारत गएको दुई वर्ष सम्म उनी सम्पर्कमा थिए ।तर त्यसपछि उनी परिवारको सम्पर्कमा छैनन् । २० वर्ष देखि भारतमा हराईरहेका उनी कहाँ छन् ?जीबित छन् वा मृत्यु भैसक्यो कुनै अत्तोपत्तो छैन।

बुवाको अनुहार देखेका छैनन् ,सुशीलले फोटो हेरेर चित्त बुझाउन्छन्:

दुई वर्षको हुँदा सुशीललाई छोडेर परिवारको खुसी किन्न, धन कमाउन भनेर भारत लागेका बुवा नफर्किएपछी जन्मदिने बुवा कस्ता थिए ? अनुहार समेत देखेका छैनन् । एउटा तस्बिर छ उनी संग त्यहीँ तस्बिर हेरेर चित्त बुझाउन्छन् । बुवा भन्ने शब्द उनका लागि शब्दमा मात्रै सिमित भयो। उनले अहिले सम्म बुवा भनेर एकपटक बोल्न समेत पाएका छैनन् ।

बेपत्ता रहेका पुने धामीका जेठा छोरा सुशील अहिले बुवाको खोजीमा सक्रिय छन् । उनी अहिले भारतमै छन् । बुवा भेटिन्छन् कि भनेर खोजीका लागि हारगुहार गरिरहेका छन् ।

उसो त सुशीलका आफन्तले बेपत्ता रहेका उनका बुवाको खोजी कार्य यस अघि पनि नगरेका होइनन् तर कयौं प्रयासहरु असफल भए । उनी काहीँ कतै भेटिएनन् ।

उनले भने” मैले अन्तिममा भेटिनुहुन्छ कि भनेर प्रयास गरिरहेको छु, जन्मदिएर उहाँले छोडेर जानुभयो, कस्तो हुनुहुन्थ्यो मलाई थाहा छैन, जन्मदिने बुवाको अनुहार समेत अहिले सम्म देख्न पाएको छैन, म जस्तो अभागी अरु को होला र ? मलाई बिश्वास छ उहाँ जहाँ भएपनि उहाँ जिवित हुनुहुन्छ”

रोजगारीका लागि भारत गएर परिवार पाल्नुपर्ने बाध्यताबाट गाउँका कोही अछुत थिएनन् । सबैको बाध्यता त्यहीँ थियो । बाजुराका अधिकांस युवाहरु रोजगारीका लागि भारतका विभिन्न भुभागमा जाने गर्छन् । तर गाउँका भारत गएकाहरु आउने जाने गर्थे।

“चाडपर्व आउँदा गाउँका बुवा संगै प्रदेश गएकाहरु घर आउनुहुन्थ्यो, हामी पनि बुवा आउनुहुन्छ कि भनेर बाटो हेरिरन्थ्यौँ, सानोमा हुँदा आमाले हामीलाई भन्नुहुन्थ्यो, तिम्रो बुवा पनि आउनुहुन्छ , उहाँ पनि नैताल( भारत ) जानुभएको छ, साच्चै आउनुहुन्छ होला भन्ने आश लाग्थ्यो,तर कहिँले आउनुभएन, भेट हुने कुरा त टाढाको कुरा हो बुवाको बोली समेत सुन्न पाएका छैन ” बेपत्ता धामीकी जेठी छोरी सरिताले सुनाइन् ।

प्रदेशीएको छोराको बाटो कुर्दा कुर्दै अस्ताए बुवाआमा :

एकदिन त आउलान् भन्ने परिवारको आस बितेका दुई दशकले निराशामा परिणत गरिदिएको छ। तर पनि बेपत्ता रहेका धामी अझै फर्किने आसमा सुशीलको परिवार छ । सुशीलका हजुरबुवा सौरे धमीले छोरा फर्किने आसमा कयौं वर्ष बिताए । उनले छोरा खोज्न गर्नुपर्ने सबै प्रयासहरु गरे । तर अन्ततः चार वर्ष अघि उनले प्राण त्यागे । छोरा जिउँदो छ कि मरिसक्यो भन्ने चिन्ताले पिरोलिएका उनको छोरा भेट्ने इच्छा अधुरै रह्यो ।

प्रदेशीएको छोराको बाटो कुर्दा कुर्दा कहिँले नथाकेकी सुशीलकि हजुरआमा रुपा धामीले पनि तीन महिना अघि अन्तिम सास फेरिन्। एउटी आमालाई छोरा २० वर्ष देखि हराईरहदा कति पीडा थियो होला त्यो कल्पना पनि गर्न सकिदैन। मृत्युको अन्तिम घडी सम्म पनि छोराको अनुहार हेर्ने अन्तिम धोको पूरा हुन सकेन । दुई छोरालाई जन्मदिएका सौरे धामी दम्पतीको अन्तिम बिदाईमा एउटा छोरा मात्रै सहभागी भए।

सुशील विगत स्मरण गर्दै सुनाउन्छन् “बाजे /बजैले (हजुरबुवा हजुरआमाले )हामी सानोमा हुँदा तेरो बुवा आउन्छ भन्नुहुन्थ्यो, चाडपर्व आउँदा सधैं रुनुहुन्थ्यो, हरेक वर्षको चाडपर्वमा हाम्रो परिवार कसैका पनि आँखा ओभाना रहदैन थिए, हजुरबुवा र हजुरआमाले भन्नुहुन्थ्यो, रुँदा,रुँदा आँखा को पानी रित्तियो, मर्ने बेला आईदिए हुन्थ्यो, मर्ने बेला पनि बुवाको नाम पुकार्दै उहाँहरुको मृत्यु भयो ”

बुवा भारतम बेपत्ता भएको भएपनी हजुरबुवा र हजुरआमाले बुवाको जस्तै कर्तव्य निभाएको सुशील बताउन्छन्। यदि हजुरबुवा र ठुलोबुवा नभएको भए आफू र आफ्ना दिदि र भाईले बिद्यालय पढ्ने पाउने अवस्था नरहेको उनको भनाई छ । सुशीलका तीनै भाईबहिनी गाउँकै बिद्यालयमा हजुरबुवाको सहयोगमा पढे । हजुरबुवाको साथ सहयोग पाएपछि उनीहरूलाई पढ्न लेख्न समस्या भएन तर बुवाबाट पाउनुपर्ने माया बाट भने तीन भाईबहीनीहरु २० वर्ष देखी बन्चित छन् । नत अब हाम्रो बुवा छैनन् भनेर भन्न सक्ने अवस्था छ न त बुवा छन् भनेर भन्न सक्छन् । हरेक वर्षका चाडपर्वहरु प्रखाईमा बित्छन् । बुवा हराएको दिन देखी हराएको परिवारको खुसी फर्केको छैन,कुनै चाडपर्व पनि चाडपर्व जस्तो लाग्दैनन् उनले सुनाए ।

छोरा सुशील र छोरी सरिताले मात्रै बुवाको बाटो कुरिरहेकि छैनन्। श्रीमती मातादेबीका श्रीमानको प्रखाईमा कयौं वर्ष बिते । छोरा सुशीलले अर्को दशैँमा त बुवा आउनुहुन्छ होला भन्दै आस गर्दा गर्दा कयौं बसन्तहरु बिते। सिङ्गो गाउँ बेपत्ता पुने धामीलाई पर्खिरहेको छ। तर उनी फर्किने कुरा त टाढाको कुरा हो कसैको सम्पर्कमा नै छैनन् ।

“छोरी ६ वर्षकी थिइन् , दुई वर्षको दुधे बालक छोरोलाई छोडेर जानुभयो,त्यसपछि कहिँले घर फर्किनुभएन, बीचमा म पनि भारतमै गएर बसे, कान्छो छोरा त्यहीँ जन्मियो, घर जाँउ भन्दा पछि आउन्छु भन्नुभयो, तर म फर्किएपछि उहाँ कहाँ हुनुहुन्छ, अत्तोपत्तो छैन, सुशिलकि आमा मतादेबीले दुखेसो पोखिन्।

यत्रो वर्ष भैसक्दा पनि श्रीमान सम्पर्कमा नआएपछि अब फर्किन्छन् भन्ने आस मरिसकेको उनी बताउन्छिन्। श्रीमानको प्रखाईमा छोराछोरीको अनुहार हेरेर, सन्तानको खुसीका लागि कयौं वर्ष श्रीमान बिनाको जिन्दगी बिताइन् मातादेबीले । यी असल नारिको जतिसुकै प्रसंशा गरेपनी कमै हुन्छ ।

जसले वर्षौं देखि हराएको श्रीमानको सिन्दुरको रक्षा गरिरहेकी छीन् । सन्तानको खुसीका लागि आफ्नो पुरै जीवन बेतित गरेकी छन् । मनका कयौं इच्छा चाहानाहरुलाई बन्धकी राखेकी छन् । श्रीमान बिनाको एक्लो जिन्दगी बिताउन कति धेरै कठिन छ, त्यो भोग्नेलाई थाहा हुँदो हो। एउटा असल श्रीमती कस्तो हुनुपर्छ सायद यी नै मातादेबी एक प्रेणाको श्रोत हुन् ।

बेपत्ता रहेका पुने धामीका दाई पदम धामी सुनाउन्छन् ” गाउँमा भएको जग्गामा खेतीपाती गर्दा ६ महिना पनि राम्रो संग खान लाउन पुग्दैन, गाउँमा रोजगारी छैन, त्यसैले गाउँको सबै नैताल (भारत) जान्छन् । हाम्रा बुवा बाजेको दिन देखि रोजगारीका लागि भारत जाने गर्थे । यो क्रम अहिले झन बढेको छ । त्यहीँ गएर कमाएको पौसाले छोराछोरी पढाउने,घर खर्च चलाउने गर्छौं , मेरो भाई मात्रै होईन गाउँका प्राय सबै हामी भारतै गएर दिन गुजारा गर्छौँ, कयौंको त्यहीँ विभिन्न कारणले मृत्यु हुन्छ,कोही बेपत्ता हुन्छन्,मेरो भाई पनि अहिलेसम्म सम्पर्कमा छैन, त्यो भन्दा अगाडी आउने जाने गर्थ्यो”

यो एक प्रतिनिधि घटाउन मात्रै हो। बाजुराका कयौं आमाबुवाले प्रदेशीएका छोराहरूको प्रखाईमा प्राण त्यागे,कयौं बुवाआमाहरू प्रदेशमा हराएकाहरुको बाटो कुरिरहेका छन् । रोजगारीका लागि भारत गएका परिवारका कयौं नाबालकहरु टुहुरा बेनेका छन् ।कयौं श्रीमतीहरुको सिन्दुर पुछिएको छ । यो काहालिलाग्दो अवस्था छ । तर राज्य निरीह छ । यसको समाधानमा ध्यान छैन ।

बाजुराको तितो यथार्थता: राज्यको छैन ध्यान:

बाजुराका अधिकांस युवाहरू रोजगारीका लागि भारत जाने गर्छन् । बाजुरेली युवाको दिन गुजारा गर्ने माध्यम नै भारत हो । बाजुराभित्रकै खप्तड छेडेदह गाउँपालिकाका युवाहरु प्राय खाडी मुलुक लगायतका बिदेशी मुलुकमा कम जान्छन् । अहिले बिस्तारै त्यता जानेको संख्या पनि बढ्दो छ। तर रोजगारीका लागि गाउँ छोड्नेहरु अधिकांस भारको नयाँ डिल्ली, कुमाउगडबाल, पौडीगडवाल, डेराडुन, अलमोडा लगायतका ठाउँमा जाने गर्छन् ।

कसैको त सपरिवार सहित भारत बस्ने गर्छन् । बाजुरावासी अधिकांस कृषिमा निर्भर छन् । खेतीपाती गरेर दिन गुजारा गर्ने बाजुरावासीहरु कृषिमा निर्भर छन् आत्मनिर्भर छैनन् । खेतीपाती गरेर ६ महिना पुग्दैन । आकासे पानीको भरमा खेतीगर्नुपर्ने बाध्यता छ ।

सोचेजस्तो उत्पादन हुँदैन । परमपरागत खेती प्रणाली छ । अन्ततः खेतीपाती गरेर छ महिना समेत नपुग्ने हुँदा प्रदेश जानुको अर्को विकल्प छैन । छाक तार्नकै लागि बिदेशीने क्रम जारी छ । यो क्रम रोकिनुको सट्टा अझै बढ्दै गएको देखिन्छ । रोजगारीका लागि भारत गएका जति सवै धन कमाएर फर्किदैनन् । कयौं युवाहरु भारतमै बेपत्ता हुन्छन् । कयौंको भारतमै ज्यान जान्छ ।

यसरी प्रदेशिएको छोरा घर फर्केलान भनेर घरको पिडिमा बसेर प्रदेशी छोराको बाटो पर्खेर बसेका कयौं बाजुरेली आमाहरुको छोरा घर फर्केका छैनन् । समय परिवर्तन भयो , अवस्था व्यवस्था फेरियो, नेतृत्व फेरियो, सरकार फेरबदल भए , तर प्रदेशिने क्रम अझै रोकिएको छैन । गाउँ-गाउँमा सिंहदरबारको नारा लिएर स्थानीय सरकार नजिकै पुग्यो तर बाजुराका दुर्गम गाउँ देखी भारतका कुमाउ गडवाल, लगायतका स्थानको दुरी टाढिएन। गाउँघरमा कुनैबेला खानेपानी थिएन खानेपानीको व्यवस्था भयो । सडक निर्माण भए, बिजुली जले, नजिक अस्पताल बने, बिद्यालय गाउँमै छन् । सञ्चारको सुबिधा पुग्यो तर जन्मदिने बुवा आमा, स्वर्ग भन्दा प्यारो जन्मभूमि, नाबालक छोराछोरी, अर्धाङ्गीनी,छोडेर पैसासंग पसिना साट्न जीवन नै दाउमा राखेर सिमा तर्नुपर्ने     बाध्यता हटेन । जहाँ गएपछि जीवनको कुनै टुङ्गो हुँदैन । गएका जति सबै फर्किदैनन् पनि । यो समस्या हटाउनका लागि प्रयास समेत गरेको पाइदैन

नेताहरुका भाषणमा रोजगारीको सिर्जना गर्ने कुरा सुन्न पाइन्छ । तर व्यवाहारमा भने कार्यान्वयन हुँदैन । चुनावमा भोट माग्दा गाउँमै रोजगारीको सिर्जना गर्छौं भन्ने नेताहरु चुनाव जितिसके पश्चात् आफ्नो दुनु सोझ्याउन बाहेकमा ध्यान कतिपय दिदैनन् । चुनावका बेला गाडी भाडा तिरिदिएर मतदान गराउन गाउँ बोलाउने जनप्रतिनिधिहरु चुनाव पछी गाउँमै रोजगारी किन लगाउन सक्दैनन् सर्वसाधारण यहीँ प्रश्न गर्दै आएका छन् ।

२२ वर्ष अघि रोजगारीका लागि भारत गएर बेपत्ता भएका पुने धामीका गाउँ घरमा कयौं नेता फेरीए तर उनी जस्तै प्रदेशीनेहरुको अवस्था बदलिएको छैन। नेपालमै रोजगारीको सिर्जना नभए सम्म कयौं पुने धामीहरु यसरी नै हराईरहने छन् । छोराको बाटो कुर्दा कुर्दा प्राण त्यागेको सौरे दम्पतीको जस्तै नियती हरेक नेपाली आमाबुवाले भोगिरहनेछन्। सुशील जस्तै कयौं सन्तानले प्रदेशीएका बुवाको प्रखाईमा आफ्नो भविष्य अन्धकार बनाउनुपर्नेछ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.